दिसाजन्य लेदोलाई उचित व्यवस्थापन गरिएन भने वातावरण र जनस्वास्थ्यको स्थिति जटिल बन्न सक्छ
काठमाडौँ, १८ पुस – जनसंख्या वृद्धि र अव्यवस्थित एवम् अनियन्त्रित शहरीकरणसँगै उत्पादन भएका फोहरपानी र फोहरमैलाको जथाभावी विसर्जन तथा खुल्ला दिसाको कारण शहरी, एवम् गाउँघरको वातावरण र जनस्वास्थ्य नराम्ररी प्रभावित भइरहेको छ ।
खुल्ला दिसा र जथाभावी फोहर विसर्जनको कारण विशेषतः पानीका श्रोतहरु प्रदुषित हुन गई वर्षेनी झाडापखाला, हैजा, टाइफाइड जस्ता पानीजन्य रोग फैलिने र ज्यानै समेत जाने गरेको छ । नेपाल सरकारको अगुवाइमा घरघरमा चर्पी बनेको छ र बन्ने क्रमजारी छ ।
यसरी निर्माण भएका चर्पीबाट संकलित दिसापिसाबजन्य फोहरको ब्यवस्थापन कहाँ र कसरी हुन्छ भन्ने कुरा सवैको चासोको बिषय वनेको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)का कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठका अनुसार नेपालमा ढलसहित सरसफाइ प्रणाली र ढलरहित सरसफाइ प्रणाली गरी दुई किसमले दिसाजन्य फोहरको ब्यवस्थापन गर्ने गरिन्छ ।
बिशेष गरी नेपालका ग्रामिण क्षेत्र एवम् अधिकांश साना शहरी तथा शहर उन्मुख क्षेत्रमा ढलरहितको सरसफाइ प्रणाली प्रचलनमा रहेको पाइन्छ भने ठूला केही शहरहरुमा ढल सहितको सरसफाइ प्रणाली अपनाउने गरिएको उहाँको भनाई छ ।
बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशन तथा नेपाल बातावरण पत्रकार समुह संगको सहकार्यमा ईन्फोले आयोजना गरेको स्तरिय सेफ्टी ट्याङ्क सम्वन्धी पत्रकारहरुका लागी तेसो्र अभिमुखीकरण कार्यक्रममा श्रेष्ठले ढल सहितको प्रणालीमा दिसापिसाबलाई पानीले बगाएर सिधै ढलमा मिसीएर फोहरपानीमा परिणत हुने र ढलरहितको प्रणालीमा दिसापिसाबलाई पानीले बगाएर विभिन्न प्रकारका दिसा संकलन खाल्डो (साधारण खाल्डो, सेप्टिक टयांकी,गोबरग्यास प्लान्ट) आदीमा व्यवस्थित भण्डारण गरिने भएकोले दिसाजन्य लेदोमा परिणत हुने बताउनुभयो ।
यस्तो दिसाजन्य लेदोलाई नियमित रुपमा रित्याएर गाडी मार्फत् प्रशोधन केन्द्रसम्म लगिनुपर्ने हुन्छ । तर एन्फोले गरेको एक प्रारम्भिक अध्ययनले ढलमार्फत् संकलित फोहरपानी मध्ये केबल ७ प्रतिशत मात्र प्रशोधन पश्चात् विसर्जन गर्ने गरिएको र बाकी ९३ प्रतिशत भने बिना प्रशोधन सिधै खोलामा छोड्ने गरिएको पाइएको छ ।
यस बाहेक गाडी मार्फत संकलित दिसाजन्य लेदोलाई पनि बिना प्रशोधन सिधै बनजंगल, खेत वा खोलामा फाल्ने गरिएको छ । यसरी विद्यमान् अवस्थामा सरसफाइको लागि अपनाइएका दुबै खाले प्रणालीले अन्ततः पानीको श्रोतलाई नै प्रदूषण गरी वातावरण र जनस्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको एन्फोको निष्र्कष छ ।
यसरी खोलाहरुमा मिसाईने ढल, फोहरपानी तथा दिसाजन्य लेदोलाई उचित व्यवस्थापन गरिएन भने वातावरण र जनस्वास्थ्यको स्थितिमा सुधार आउने भन्दा पनि समस्या थप जटिल बन्ने देखिएको निर्देशक श्रेष्ठको भनाई छ ।
तसर्थ खुल्ला दिसामुक्त अभियान एवम् पूणर् सरसफाइ अभियानलाई सार्थक निष्कर्षमा पुर्याउनको लागि सरसफाइको अभ्यासलाई चर्पी निर्माणमा मात्र सिमित नराखी उत्पादन हुने सबै प्रकारका फोहरलाई प्रशोधन गर्नु उत्तिकै अपरिहार्य र महत्वपूणर् रहेको उहाँको भनाई छ ।
अर्जुन धामी

