पार्टीभित्रको खबरदारी स्वाभाविक : सभापति लामिछाने

काठमाडौँ, २३ मङ्सिर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताउनुभएको छ । भरतपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले पार्टी विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने बताउनुभयो ।

बढी मत आएकालाई छाडेर कम मत आएकाहरूलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाले रास्वपा कार्यालयमा आज विरोध प्रर्दशन गरेका थिए । सभापति लामिछानेले नेता कार्यकर्ताको विरोध नभएर नेतृत्वलाई सचेत बनाउन खबरदारी गरेको उल्लेख गर्नुभयो ।

“हाम्रो पार्टीमा पनि पुरानै राजनीतिक अभ्यास हुन्छ कि भनेर साथीहरूले सचेत गराउनुभएको हो”, उहाँले भन्नुभयो, “ताली बजाउने र गुनगान मात्र गाउने होइन खबरदारी गर्नुपर्छ ।” प्रणालीभन्दा माथि कुनै व्यक्ति नहुने भन्दै उहाँले समानुपातिक सांसद छनोट पारदर्शी रूपमा हुने बताउनुभयो ।

पार्टीभित्र कोही पनि तलमाथि नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मैले नै खबरदारी गर्नुहोला भनेको छु, जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्ने पनि छैन ।” सरकारबारे नसोचेको भन्दै उहाँले एजेण्डा ठूलो कुरा भएको र सरकार प्राथमिकतामा नराखेको धारणा राख्नुभयो ।

Facebook Comments Box