एमालेलाई सघाएकाे भनि गण्डकीका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्त
काठमाडौं, २० कात्तिक – गण्डकीका ऊर्जा, जलश्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यको मन्त्री पद गुमेको छ। गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सिफारिसमा प्रदेश प्रमु्ख पृथ्वीमान गुरुङले उनलाई हटाएका हुन्।
प्रदेश प्रमुखको कार्यालयले मन्त्रिपरिषद्मा हेरफेर भएको जनाउँदै ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय मुख्यमन्त्री कृष्णचन्द्र नेपालीमातहतमै रहने गरी मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर भएको जानकारी दिएको छ ।
गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माओवादीकै चुनाव चिह्न लिएका फणिन्द्र देवकोटाविरुद्ध प्रचारमा उत्रिएपछि उनको पद गएको हो।
अघिल्लो चुनावमा नयाँशक्ति पार्टीबाट विजयी बनेका आचार्य यो चुनावमा पनि गोरखा क्षेत्र नम्बर २ को ‘क’बाट उम्मेदवार बन्न चाहन्थे। गण्डकीको सरकार परिवर्तन हुँदा मन्त्री पद पाएका उनी यो चुनावमा पनि त्यही क्षेत्रबाट उठ्ने तयारीमा थिए।
तर, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले त्यस क्षेत्रबाट फणिन्द्र देवकोटालाई उम्मेदवार बनायो। आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गराएर पछि फिर्ता लिए। उम्मेवारी फिर्ता लिए पनि उनले एमालेका प्रदेशसभा उम्मेदवार राजु रानालाई सघाउँदै प्रचण्डविरुद्ध प्रचार गरेको गुनासो पुगेको थियो।
प्रचण्ड हुँदै त्यो गुनासो डा. बाबुराम भट्टराई र प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुगेको हो। बाबुरामकै सहमतिमा गण्डकीका मुख्यमन्त्रीले उनलाई पदबाट हटाएको स्रोतले जनाएको छ। मन्त्री आचार्य पनि मुख्यमन्त्री नेपालीसँग असन्तुष्ट थिए। मुख्यमन्त्रीले आफ्नो मन्त्रालयको बजेट काटेको उनको गुनासो थियो।

