भारतीय सेनाप्रमुख मनोज पाँडे पाँच दिनका लागि नेपाल भ्रमणमा

काठमाडौँ, २० भदौ – भारतीय सेनाप्रमुख मनोज पाँडेको नेपाल भ्रमणले दुई देशबीचको रक्षा सम्बन्धको समीक्षा गर्दै आपसी हितका क्षेत्रमा सहयोग सुदृढ गर्ने एउटा अवसर रहेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ। पाँडे हिजाे अपरान्ह पाँच दिनका लागि नेपाल भ्रमणमा आएका हुन्।

प्रधानसेनापति पाँडेको भ्रमणबारे भारतीय पक्षले जारी गरेको प्रेस विज्ञप्तिमा भारत-नेपाल ऐतिहासिक र बहुआयामिक सम्बन्ध पारस्परिक सम्मान र विश्वासका अलावा साझा संस्कृतिक र सभ्यताले अडेको उल्लेख छ। ‘नेबरहुड फर्स्ट र एक्ट इस्ट नीतिहरु अनुसार भारतले नेपालसँगको सम्बन्धलाई उच्चतम महत्व दिन्छ’ विज्ञप्तिमा भनिएको छ।

नेपालमा हुने भेटवार्तामा नेपाल र भारतबीचका रक्षा सम्बन्धका विभिन्न आयाम सुदृढ गर्ने विषयमा प्रेस विज्ञप्तिमा उल्लेख छ। पाँडेलाई हिजाे अपरान्ह नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गर्न भारतीय सेनाध्यक्ष यहाँ आएका हुन्।

एक विशेष समारोहबीच भोलि सोमबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रधानसेनापति पाँडेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ। नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाँडेलाई राष्ट्रपति भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।

भ्रमणका क्रममा भारतीय प्रधानसेनापतिले रक्षामन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग पर्सि मंगलबार शिष्टाचार भेटघाट गर्नेछन्। पाँच सदस्यीय भ्रमणटोलीका साथ भारतीय सेनापति नेपाल आएकोे सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।

नेपाली समकक्षी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँडे काठमाडौ आएका हुन्। भदौ २३ सम्म यहाँ रहँदा पाँडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट एवं छलफल गर्ने कार्यक्रम छ।

त्यसैगरी भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप दिइने विविध सामग्री हस्तान्तरण कार्यक्रम पनि रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। यसअघि गत महिना नेपाली सेनाले भारतसँग दुईवटा हेलिकोप्टर अनुदानमा मागेको थियो।

तर भारतीय सेनाप्रमुखले भ्रमणमा उक्त अनुदान घोषणा गर्ने संभावना नरहेको सैनिक अधिकारीहरुको भनाई छ। भारतीय प्रधानसेनापति पाँडे नेपाली सेनाका कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

Facebook Comments Box