नेकपा एमाले र राप्रपाबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मिलेर जान सैद्धान्तिक सहमति

काठमाडौं, १६ भदौ – प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मिलेर जान सैद्धान्तिक सहमति भएको छ। दुई पार्टीबीच चुनावी तालमेलको मोडालिटी र निर्वाचन क्षेत्र बाँडफाँटका विषयमा छलफल भइरहेको छ।

राप्रपाका एकजना वरिष्ठ पदाधिकारीले  दिएको जानकारी अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच भएको भेटपछि सैद्धान्तिक सहमति जुटेको हो।

‘हामी र एमालेबीच चुनावी तालमेल गरेर जाने सैद्धान्तिक सहमति भएको छ,’ ती नेताले भने, ‘मोडालिटी र निर्वाचन क्षेत्र बाडफाँटका विषयमा छलफल गर्न राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ र भुवन पाठकलाई जिम्मा दिइएको छ।’

एमालेबाट उपमहासचिव विष्णु रिमाल लगायत पदाधिकारीमै रहेका ओलीका विश्वासपात्रहरु खटिएका छन्। एउटै व्यक्तिलाई जिम्मा नदिएर एमालेले पालैपालो फरक फरक नेताहरु वार्ताका लागि खटाएको छ।

स्थानीय तहको चुनावमा पनि झापाबाहेकका केही स्थानीय तहमा एमाले र राप्रपाबीच तालमेल भएको थियो। पाँचदलीय गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेपछि एमाले र राप्रपाबीच मिलेर जाने समझदारी बनेको हो। अहिलेसम्मको समझदारीअनुसार राप्रपाले प्रत्यक्षका कम्तीमा १० सिट पाउने सम्भावना छ।

जित्ने गरी दाबी गरिएका ती क्षेत्रमा एमालेले उम्मेदवारी नदिने समझदारी बनेको नेताहरुले बताए। तर, निर्वाचन क्षेत्रबारे अझै सहमति जुटिसकेको छैन। राप्रपाले एमालेसँग प्रतिनिधिसभाका लागि २० वटा क्षेत्र मागेको छ

राप्रपाका पदाधिकारीका अनुसार अध्यक्ष राजेन्द्र लिङदेन झापा ३ मा उठ्नेछन्, उनलाई एमालेले सघाउनेछ। यस्तै, उपाध्यक्ष विक्रम पाण्डे चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्नेछन्। त्यस क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि उठ्ने तयारीमा छन्। २०७४ को चुनावमा विक्रमलाई नै हराएर प्रचण्ड प्रतिनिधिसभामा आएका थिए।

तत्कालीन राप्रपा (प्रजातान्त्रिक)का नेता विक्रमलाई ९ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै प्रचण्ड प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। प्रचण्डले ४८ हजार २७६ मत पाउँदा पाण्डेले ३८ हजार ९३५ मत पाए। त्यसबेला एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो।

अहिले पाँचदलीय गठबन्धनबाट प्रचण्ड र एमाले–राप्रपा तालमेलबाट पाण्डे उम्मेदवार बन्ने सम्भावना छ। यद्यपि अन्तिम निर्णय भइसकेको छैन। यसैगरी राप्रपाका उपाध्यक्षहरु बुद्धिमान तामाङ धादिङ-१ र ध्रुवबहादुर प्रधान नवलपरासी पश्चिमबाट उम्मेदवार बनाउने राप्रपाले तयारी गरेको छ।

राप्रपाले महामन्त्री भुवन पाठकलाई काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउन चाहेको छ। काठमाडौं २ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जितेका थिए। उनी यो पटक रौतहट झर्दैछन्। यस्तोमा काठमाडौं २ मा पनि एमालेले राप्रपालाई सघाउन सक्ने विश्वास नेताहरुले लिएका छन्।

२०७४ मा काठमाडौं २ बाट जितेका एमालेका नेपाल नयाँ पार्टी निर्माण गरेर अघि बढेका छन्। अर्का महामन्त्री धवलशम्शेर जबरालाई नेपालगञ्ज क्षेत्र रहेको बाँके क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउन चाहेको छ।

यसैगरी राप्रपाका वरिष्ठ नेता दीपक बोहरालाई रुपन्देही क्षेत्र नम्बर ३, मकवानपुर–१ मा दीपक सिंह, जुम्लामा ज्ञानेन्द्र शाही, बर्दियामा पूर्वगर्भनर डा. तिलक रावलका छोरा विनय रावल र सुर्खेतमा मुकुन्द श्याम गिरीलाई प्रतिनिधि सभामा उठाउँदैछ।

महामन्त्रीमा उठेर पराजित रेखा थापा मोरङ ३ बाट उम्मेदवार बन्दैछिन्। त्यहाँ कांग्रेसका सुनिल शर्मा सर्वसम्मत सिफारिस भइसकेका छन्। सिन्धुपाल्चोक र नुवाकोटबारे दुई दलले कुनै टुंगो गरेका छैनन्। एमालेसँग सिट संख्यामा कुरा मिले राप्रपाले सिन्धुपाल्चोक-१ मा पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई नुवाकोट १ बाट उठाउन खोजेको छ।

राप्रपाका एक वरिष्ठ नेताका अनुसार विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपासँग एकता गर्न तयार छन्। अर्कातिर उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि वार्ता गरेका छन्। उनको पार्टीसँग र राप्रपाको एकता अन्तिम चरणमा पुगेको छ। पदका विषयमा कुरा मिलेको छैन।

राप्रपासँग एकता भएको अवस्थामा काठमाडौं–१ मा रवीन्द्र मिश्रलाई उम्मेदवार बनाउन राप्रपाभित्र सहमति जुटिसकेको छ। यस्तो काठमाडौं-१ मा एमाले पनि राप्रपालाई सघाउन तयार भएको स्रोतको दाबी छ।

‘रवीन्द्रजीको पार्टीसँग एकता अन्तिम चरणमा पुगेको छ, केही प्राविधिक कुरा मिलाउन बाँकी छ,’ ती नेताले भने, ‘एकता टुंगिए उहाँलाई काठमाडौं १ बाट उम्मेदवार बनाउँछौं, यसबारे एमालेसँग सहमति जुटिसकेको छ।’

राप्रपाका महामन्त्री पाठकले एमालेसँगको चुनावी तालमेल हुने बताए। उनले रवीन्द्र मिश्रको पार्टीसँगको एकता अन्तिम चरणमा पुगेको बताए। ‘यसपटकको प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा एमालेसँग तालमेल हुन्छ, त्यसका लागि केही समझदारी भइसकेका छन्,’ पाठकले भने, ‘केही दलहरुसँग एकता अन्तिम चरणमा पुगेको छ।’

Facebook Comments Box