सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक आज पनि बस्दै
काठमाडौँ, ८ भदौ – सत्तारुढ दलको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक आज पनि बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ ५ बजेका लागि तय भएको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए। यसअघि मंगलबार बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुंगिएको थियो। मंगलबारको बैठकमा नेताहरुले चाँडोभन्दा चाँडो टुंग्याउन दबाब दिएका थिए
यद्यपि कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला बिरामी भएर अनुपस्थित भएपछि केहीबेर छलफल गरेर बैठक स्थगित भएको थियो। ९ गतेभित्र सिट बाँडफाँटको विषयलाई टुंग्याउन प्रयत्न भइरहेको नेताहरुले बताएका छन्। सिट बाँडफाँडको आधारहरुको विषयमा छलफल भइरहेको र ९ गतेभित्र टुंगिने कार्यदलका सदस्य समेत रहेका राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले बताएका छन्।
०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार र पार्टीको पकड क्षेत्रका आधारमा सिट बाँडफाँट अघि बढाउन शीर्ष नेताहरुबीच छलफल भइरहेको छ। यद्यपी अन्तिम टुंगो भने लाग्न बाँकी छ।

