नेकपा (माओवादी केन्द्र) ले पदाधिकारीको टुंगो भोलि लगाउने
काठमाडौं, १ भदौ – नेकपा (माओवादी केन्द्र) ले पदाधिकारीको टुंगो भोलि (भदौ २ गते) लगाउने भएको छ। पार्टीको जारी स्थायी समिति बैठकले भोलि पदाधिकारी टुंगो लगाउने नेता कृष्णबहादुर महराले बताए।
सञ्चारकर्मीको जिज्ञासामा नेता महराले भने, ‘आज छलफल सुरु भयो। भोलि बिहान ८ बजे बस्ने बैठकबाट सबै टुंगिन्छ।’ उनले केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समितिमा केही सदस्य थप गर्नुपर्ने र पदाधिकारी टुंगो लगाउनुपर्ने भएकोले छलफल त्यसैमा केन्द्रित भएको बताए।
गत पुसमा सम्पन्न माओवादीकाे आठौँ महाधिवेशनले पदाधिकार चयन, स्थायी समिति र पोलिटब्यूरो गठन गर्न बाँकी राखेको थियो। यसअघि बसेको केन्द्रीय समिति बैठकले स्थायी समिति र पोलिटब्यूरो गठन गर्नुका साथै वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई चयन गरिएको थियो।
२९९ सदस्यीय केन्द्रीय कमिटीसहित अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष गरी १५ जना पदाधिकारीको व्यवस्था महाधिवेशनले गरेको छ। पदाधिकारीमध्ये सर्वाधिक चासो महासचिव पदमा रहेको छ।

