प्रतिनिधि सभा बैठक आज बस्दै, नागरिकता विधेयक फिर्ताको पत्र पेश हुने
काठमाडौं, ३१ साउन – प्रतिनिधि सभा बैठक आज बस्दै छ। संघीय संसद सचिवालयका अनुसार मंगलबार (३१ साउन) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो। मंगलबार बैठकमा प्रतिनिधिसभा सचिवले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक सन्देश सहित फिर्ता भएको सम्बन्धी जानकारी गराउने कार्यसूची रहेको छ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयकसहित फिर्ता पठाएको सन्देशबारे संसद सचिवालयका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभालाई जानकारी गराएसँगै यसमाथि छलफल अघि बढ्ने छ। नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता भएपछि आज पहिलो प्रतिनिधिसभा बैठक बस्न लागेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार पुनर्विचार गर्न ९ पृष्ठको सन्देशसहित विधेयक फिर्ता पठाएकी थिइन्। साउन १५ मा संघीय संसदका दुवै सदनबाट पारित विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि आइतवार साँझ प्रतिनिधि सभामै फिर्ता पठाइदिएकी थिइन्। राष्ट्रपति कार्यालयको पत्र सोमबार संघीय संसद सचिवालय पुगेसँगै यसबारे फेरि छलफल अघि बढ्ने भएको हो।

