फुट्यो जसपा, पार्टी पुनर्गठन गर्ने बाबुराम भट्टराई पक्षको निर्णय

काठमाडौँ, ३० असार – सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) को डा. बाबुराम भट्टराई पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी पुनर्गठन गर्ने निर्णय गरेको छ। मंगलबार र बुधबार २८-२९ असारमा काठमाडौमा बसेको केन्द्रिय समिति बैठकले जसपा रुपान्तरण गर्न नसक्ने ठहर गर्दै संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनअनुसार पार्टी पुनर्गठन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।

कार्यकारिणी बैठक शनिबारसम्म बस्ने समझदारी पनि बनाएको छ। ‘जसपा रुपान्तरण गर्ने सम्भावना छैन, पुनर्गठन गर्नैपर्ने डा. बाबुराम भट्टराईको प्रस्ताव अनुमोदन गर्‍यो, कार्यकारिणी सदस्यले नेपालखबरसँग भने, ‘पार्टी पुनर्गठन गर्ने अधिकार कार्यकारिणी लाई दिएको छ। कार्यकारिणीको बैठक शनिबारभित्र बस्नेछ।’

कार्यकारिणीको बैठकले पार्टीको नाम, केन्द्रीय समिति, निर्वाचन आयोगमा पार्टी दर्ता लगायतका विषय टुंगो लगाउने ती नेताले बताए। गत पुसदेखि पार्टीभित्र चर्किएको विवादले उग्र रुप लिएको ७ महिनापछि जसपा फुटेको छ। केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पर्साको वीरगञ्जमा बुधबादेखि केन्द्रीय समिति बैठक राखेका छन्।

बुधबारको बैठकमा उनले भट्टराई लगायत नेतामाथि अनुशासनको कारवाहीदेखि विधान संशोधन, केन्द्रीय र कार्यकारिणी समिति पुनर्गठन लगायत १० एजेन्डा पास गरेका छन्। जसपा स्रोतका अनुसार भट्टराई पक्षमा १६० जना केन्द्रीय सदस्य खुलेका छन्।

Facebook Comments Box