आज देशभर जसो वर्षा हुने, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, २३ असार – आज देशभरजसो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसो त अहिले पनि देशका केही स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार बागमती, गण्डकी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ। ‘कर्णाली प्रदेशमा चाहिँ अघिसम्म एक दुई स्थानमा भारी वर्षा पनि भएको थियो’, उनले भनिन्।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति देशभर धेरै स्थानमा मेघगर्जन/चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश नं १ र मधेश प्रदेशका एक(दुई स्थान साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ। मौसमविद् सजिना शाक्यका अनुसार काठमाडौं उपत्यकामा पनि अहिले केही स्थानमा पानी परिरहेको छ। आज दिउँसो र बेलुका पनि उपत्यकामा वर्षाको सम्भावना रहेको उनले बताइन्।
आज देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश नं १ र मधेश प्रदेशका एक दुई स्थान साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेकाे छ।

