प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौं, २३ असार – प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। बैठक दिउँसाे २ बजे सुरु हुने गरी बाेलाइएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्। आजका सम्भावित कार्यक्रममा ‘नेपाल नागरिकता (पहिलो) संशोधन, २०७५’ फिर्ताका लागि प्रस्ताव पेस गरिने पनि उल्लेख गरिएको छ। प्रस्ताव गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गर्नेछन्। मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सरकारले प्रतिनिधि सभामा विचाराधीन विवादित नागरिकता विधेयक फिर्ता लिन लागेको हो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने नागरिकता विधेयक फिर्ताको निर्णयको विरोध गरेको छ। संघीय संसदका महासचिव डा. गौतमका अनुसार प्रतिनिधि सभाको आजको बैठकमा अन्य सम्भावित कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछन्। यस्तै आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगेमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यक्रममा उल्लेख गरिएको छ।

Facebook Comments Box