सत्ता गठबन्धनले केन्द्रबाटै सहमति गरेर देशभर तालमेल गर्ने निर्णय गरे पनि त्यसलाई कायम राख्न असफल

काठमाडौं, १३ वैशाख – पाँच दलीय सत्ता गठबन्धनले केन्द्रबाटै सहमति गरेर देशभर तालमेल गर्ने निर्णय गरे पनि महत्वपूर्ण स्थानमा समेत त्यसलाई कायम राख्न असफल भएको छ । केन्द्रबाटै तालमेल गर्ने निर्णय गरेका ६ वटा महानगर र ११ वटा उपमहानगरमा समेत अधिकांश ठाउँमा गठबन्धन दलहरूबाटै बागी उम्मेदवारी परे । कतिपयमा ठाउँमा गठबन्धनभित्र पनि गठबन्धन बने भने कतिपय स्थानमा गठबन्धन बाहिरको प्रमुख दल एमालेसँगै तालमेल गरेर उम्मेदवारी दर्ता भए ।

सबैभन्दा चर्चामा रहेको चितवनको भरतपुर महानगरमा गठबन्धनले साझा उम्मेदवार उठाउने सहमति गरेको थियो । सोहीअनुसार माओवादी केन्द्रबाट प्रमुखमा रेनु दाहाल र उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराए । तर, पहिल्यैदेखि नै असन्तुष्ट रहेको चितवन कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले पनि बागी उम्मेदवारी दर्ता गराए ।

अर्को महत्वपूर्ण महानगर हो, पोखरा । गठबन्धन केन्द्रको निर्णयअनुसार पोखरा महानगर एकीकृत समाजवादीको भागमा परेको थियो । सोहीअनुसार प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्ताको क्रममा आचार्यले कांग्रेस र माओवादी केन्द्रका नेताहरूलाई सँगै उभ्याएर आफू पार्टीको मात्रै नभई सिंगो गठबन्धनको उम्मेदवार भएको देखाउने प्रयास गरे । तर, त्यही महानगरमा नेपाली कांग्रेसका तीन जनाले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनको यो संकट महानगरमा मात्रै होइन, देशभरका अधिकांश पालिकामा समेत देख्न सकिन्छ । गण्डकी प्रदेशको कास्कीमा मात्रै पोखरा बाहेकका पालिकामा गठबन्धनले साझा उम्मेदवारी दर्ता गर्न सकेन । म्याग्दीका ६ वटा स्थानीय तहमध्ये दुईवटामा बाहेक तालमेल गर्न सकेन । मुस्ताङका केही वडामा बाहेक कुनै पालिकामा पनि गठबन्धन कायम रहेन । तनहुँका १० पालिकामध्ये ३ पालिकामात्रै गठबन्धन भएको छ ।

सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा तीनवटा पालिकामा तीनवटा दलले र एक-एक पालिकामा दुई-दुई वटाले तालमेल गरे । सुनर्या गाउँपालिका प्रमुखमा एकीकृत समाजवादी र उपप्रमुखमा माओवादीले उम्मेदवारी दिए । पाटन नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवारी दिए ।

तर, यी दुईवटै पालिकामा तेस्रो दलले गठबन्धनका उम्मेदवारलाई समर्थन गरेनन् । परिणामतः सुनर्या गाउँपालिकामा कांग्रेसले र पाटन नगरपालिकामा एकीकृत समाजवादीले आ-आफ्ना उम्मेदवार उठाए । बाँकी पाँचवटा पालिकामा भने गठबन्धनका सबै दलले ‘मित्रवत’ प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराए ।

दार्चुलामा गठबन्धनका दुई दल कांग्रेस र माओवादी केन्द्रले मात्रै तालमेल गरे । एकीकृत समाजवादीले भने दुईवटा पालिकामा मात्रै एक्लै उम्मेदवारी दर्ता गरायो । कञ्चनपुरमा गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरे । तर, कांग्रेसले सबै पालिकामा एकल उम्मेदवारी दियो । माओवादी र एकीकृत समाजवादीले तालमेल गरेकै एउटा नगरपालिकामा पनि उपप्रमुख पदमै बागी उम्मेदवारी पर्‍यो ।

प्रदेश १ र मधेशमा संकटग्रस्त

गठबन्धनभित्रको संकट प्रदेश १ र मधेश प्रदेशमा छरपस्ट भयो । प्रदेश १ का १४ वटा जिल्लामध्ये पाँच वटा जिल्लाका आंशिक पालिकामा मात्रै गठबन्धनबीच गुट र उपगुटसहित तालमेल भयो । झापाका १५ मध्ये १० वटा पालिकामा कांग्रेस र माओवादी केन्द्रले साझा उम्मेदवार उठाए । मोरङमा केन्द्रबाटै निर्णय भएको विराटनगर महानगरबाहेक अन्यत्र दलहरू एकमत हुन सकेनन् ।

मिक्लाजुङ र लेटाङमा माओवादी र कांग्रेसबीच मात्रै र सुनबर्सी नगरपालिका र धनपालथान गाउँपालिकामा माओवादी र जनता समाजवादी पार्टी (जसपा) बीच छुट्टाछुट्टै गठबन्धन बने । रोचक तालमेल एमाले फुटेर बनेको एकीकृत समाजवादीले गर्‍यो । हुम्लाको चंखेली गाउँपालिकामा एकीकृत समाजवादी गठबन्धनभित्र सन्तुष्ट हुन नसकेपछि एमालेकै शरणमा पुग्यो । चंखेलीको अध्यक्षमा एमालेबाट बिमला कुमारी शाही र उपाध्यक्षमा समाजवादीबाट प्रेमकला शाहीले उम्मेदवारी दिए

सुनसरीका दुई उपमहानगर धरान र इटहरीबारे गठबन्धनको केन्द्रबाटै निर्णय भएको थियो । तर, जिल्लाका अन्य पालिकामा भने दलहरूले एकले अर्कोलाई स्वीकार गर्न सकेनन् । खोटाङका १० पालिकामध्ये ६ वटामा कांग्रेस र माओवादी केन्द्रबीच मात्रै तालमेल भयो । समग्रमा प्रदेश १ का १३७ पालिकामध्ये अधिकांश पालिकामा गठबन्धनबीच सहमति नभएपछि ‘मित्रवत’ प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

मधेशमा त झन् केन्द्रबाटै सहमति गरिएका बाहेक स्थानमा दलहरू एक ठाउँमा नै उभिन सकेनन् । एकीकृत समाजवादीका मधेश प्रदेश इञ्चार्ज धर्मनाथ साह केन्द्रमा भएको निर्णय बाहेक अन्य स्थानमा तालमेल हुन नसकेको बताउँछन् । ‘कतै पनि तालमेल भएन,’ साहले भने, ‘सबैले आ-आफैं उम्मेदवारी दर्ता गरेका छन् ।’

पर्साको वीरगञ्ज महानगर, धनुषाको जनकपुर उपमहानगर र बाराको जितपुर सिमरामा केन्द्रबाटै टुंग्याइएका थिए । सर्लाहीको लालबन्दी नगरपालिकामा गठबन्धन गर्ने सहमति भयो तर कार्यान्वयन गर्दा दलहरू एक्लाएक्लै उम्मेदवारी दर्ता गर्न पुगे । पर्साको पर्सागढी नगरपालिकामा भने दलहरूले संयुक्त उम्मेदवार उठाउन सफल भए । यी बाहेक मधेसका अन्य पालिकामा भने सबैले एक्लाएक्लै उम्मेदवारी दिए ।

माओवादीका प्रदेश इञ्चार्ज साह मधेशले गठबन्धनको मर्म बझु्न नसकेको बताउँछन् । ‘गठबन्धनको मुलभूत आवश्यकता पनि मधेशले बुझेन,’ उनले भने, ‘यसको सैद्धान्तिक र व्यवहारिक कुरा पनि बुझेन ।’

एमालेसँग तालमेल गर्न गठबन्धनका दलहरूको हानथाप

गठबन्धनका दलहरूको विजोग देखाउने अर्को दृश्य हो एमालेसँगको तालमेल । जुन दललाई प्रतिगमनकारी भन्दै आफू सत्तामा आसिन छन् र जसका विरुद्ध गठबन्धन बनाएका छन् आन्तरिक संकटका कारण उसैसँग तालमेल गर्न पुगे । गठबन्धनका दलहरूले बरु ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने तर, एमालेसँग तालमेल नगर्ने भनेर केन्द्रबाट निर्देशन नै जारी गरेका थिए । तर सहकार्य विपरीत प्राय सबै दलले कुनै न कुनै ठाउँमा एमालेसँग तालमेल गरेरै छाडे ।

त्यसमा पनि रोचक तालमेल एमाले फुटेर बनेको एकीकृत समाजवादीले गर्‍यो । हुम्लाको चंखेली गाउँपालिकामा एकीकृत समाजवादी गठबन्धनभित्र सन्तुष्ट हुन नसकेपछि एमालेकै शरणमा पुग्यो । चंखेलीको अध्यक्षमा एमालेबाट बिमला कुमारी शाही र उपाध्यक्षमा समाजवादीबाट प्रेमकला शाहीले उम्मेदवारी दिए ।

प्युठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि माओवादी केन्द्र पनि नेकपा एमालेसँग तालमेल गर्न पुग्यो । गाउँपालिका अध्यक्षलाई लिएर माओवादी र राष्ट्रिय जनमोर्चा सहमति नभएपछि एमाले-माओवादी गठबन्धन हुन पुग्यो ।

गठबन्धनका साना दलले एमाले रोज्न थालेपछि प्रमुख दल कांग्रेसले पनि त्यही बाटो रोज्यो । चुनावी घोषणापत्रमा एमालेलाई भएभरको गाली गरेको कांग्रेसले सहयात्री दलहरूलाई मिलाउन नसकेर आफैं एमालेसँग तालमेल गर्न पुग्यो । रोल्पाको माडी गाउँपालिकाको अध्यक्षमा एमालेका विजय घर्तीमगर र उपाध्यक्षमा कांग्रेसका कृष्ण विकको उम्मेदवारी दर्ता भयो । पालिकामा मात्रै होइन, कांग्रेस र एमालेले वडामा समेत तालमेल गरेका छन् ।

सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बन्यो । अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर बुढाथोकी र उपाध्यक्षमा एमालेका लालबहादुर राउतले मनोनयन दर्ता गरे । भोजपुरको आमचोक गाउँपालिकाका वडामा कांग्रेसले एमालेसँग तालमेल गर्‍यो।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रदेश १ का पूर्व मुख्यमन्त्रीसमेत रहेका नेता शेरधन राईको घर रहेको उक्त गाउँपालिकामा एमाले र कांग्रेस मिलेर १० वटा वडा बाँडफाँट गरेका छन् । त्यसबाहेकका गाउँपालिकामा पनि कांग्रेसले एमालेसँग जिल्लाको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकामासमेत तालमेल गरेको छ ।

Facebook Comments Box