दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी दर्जनौँ घरहरू जोखिममा

काठमाडौं, ४ वैशाख – दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ । आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवल्दार वेदनाथका अनुसार बिहीबार माझखण्डबाट सल्केको आगो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाँउका दर्जनौँ घरहरू जोखिममा परेका छन् ।

हिजोदेखि नै स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरे पनि सफल हुन सकेको छैन । प्रहरी सहायक हवल्दार वेदनाथका अनुसार निरन्तर ढुंगाहरू झरिरहेकाले आगो निभाउन जानसमेत समस्या छ । निरन्तर हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या भैरहेको छ ।

आगो फैलिँदा खैरेनी,प्युटार, धनडाँडा र फुर्केडाँडा गाउँमा २ सय ५० घरमा वितरण गरिएको खानेपानीको पाइप जलेर नष्ट भएको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष उत्तमबहादुर लामाका अनुसार खानेपानीको पाइपको क्षतिबारे यसै भन्न सकिने अवस्था छैन ।

Facebook Comments Box