चुनावको मुखमा नेपाली कांग्रेसमा किचलो बढ्दै, इतर समूह देशव्यापी आन्दोलन तयारीमा

काठमाडौं, १५ चैत – स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रमुख सत्तारुढ नेपाली कांग्रेसको किचलो पनि बढ्दै गएको छ। गत मंसिर अन्तिम साता भएको चौधौं महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित शेरबहादुर देउवाले पेलेर अघि बढेको निष्कर्षसहित डा. शेखर कोइराला नेतृत्वको इतर समूह देशव्यापी आन्दोलन तयारीमा जुटेको हो।

महामन्त्री गगनकुमार थापाको ज्ञानेश्वरस्थित सचिवालयमा बसेको इतर समूहको छलफलले विभिन्न चार बुँदे निष्कर्षसहित सभापति देउवा नसच्चिने हो भने देशव्यापी आन्दोलन तयारी गरेको हो

सोमबार आयोजित खबरदारी सभाको समीक्षा गर्न महामन्त्री थापाको सचिवालयमा भएको छलफलमा चौधौं महाधिवेशनलाई प्राप्त ४० प्रतिशत मतलाई सभापति देउवाले बेवास्ता गरेकाले आन्दोलित हुनुपरेको निष्कर्ष यो समूहले निकालेको हो।

बैठकमा सहभागी इतर समूहका एकजना नेताका अनुसार देउवाले पेल्ने क्रम नरोकेपछि प्रतिरोधका लागि बाध्यतावश आन्दोलन रोज्नुपरेको हो। इतर समूहले सभापति देउवा चरम गुटबन्दीमा लागेको जनाउँदै पार्टीभित्रका भातृ संगठनसहित आगामी तीनै तहको निर्वाचनमा समान अवसर र न्यायोचित व्यवस्थापन नगर्ने हो भने विद्रोह हुने चेतावनी पनि दिएको छ।

‘चौधौं महाधिवेशनमा प्राप्त ४० प्रतिशत मतलाई सभापतिले बेवास्ता गरेर सभापति देउवा एकलौटी ढंगले अगाडि बढ्न खोजेकाले बाध्य भएर आन्दोलनमा जानुपरेको हो’, उक्त समूहले भनेको छ,’संसदीय समिति गठन गर्दा शेखर कोइराला समूहका वरिष्ठ नेताहरुलाई नसमेट्ने हो भने पार्टी नेतृत्वविरुद्ध देशैभर आन्दोलन सुरु हुन्छ।

पार्टी सभापतिलाई घेराबन्दी गर्ने तयारी भएको छ।’ यो समूहले साताअघि नेविसंघ र तरुण दलमा भएको नियुक्ति पनि एकपक्षीय बताउँदै आपत्ति प्रकट गरेको छ। ‘पार्टीको भ्रातृ संस्थामा पनि कोइराला समूहको समान अवसरको ग्यारेन्टी हुनुपर्छ’, यो समूहको ज्ञानेश्वर छलफलपछि ती नेताले भने,’आगामी तीनै तहको निर्वाचनमा शेखर कोइराला समूहको समान अवसर र न्यायोचित व्यवस्थापन नगर्ने हो भने विद्रोह हुन सक्ने चेतावनी सभापतिलाई दिन्छौँ।’

Facebook Comments Box