गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म विद्युतीय सार्वजनिक बस चल्ने
काठमाडौं, १५ चैत – गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्मका लागि अबदेखि विद्युतीय सार्वजनिक बस चल्ने भएका छन्। निजी क्षेत्रको सुन्दर यातायात प्रालिले रुपन्देहीको मणिग्रामदेखि गौतम बुद्धको जन्मस्थल कपिलवस्तुको लुम्बिनीसम्मको ३३ किलोमिटर दूरीमा विद्युतीय बस चलाउने भएको हो।
विद्युतीय बस सञ्चालनको मंगलबार पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले रिबन काटेर उद्घाटन गरे। उद्घाटनपछि अध्यक्ष ओलीले मणीग्रामबाट लुम्बिनीसम्म ३३ किलोमिटरको यात्रा विद्युतीय बसबाटै गरेका थिए।
सुन्दर यातायात प्रालिका अनुसार ओलीले लुम्बिनीदेखि भैरहवास्थित गौतम बुद्ध विमानस्थलसम्मको १६ किलोमिटर दूरी पनि विद्युतीय बसमै यात्रा गरेका थिए।
सुन्दर यातायात प्रालिले काठमाडौंको रिङ रोडमा पनि केही वर्षदेखि विद्युतीय बस चलाइरहेको छ। लुम्बिनीमा चलाउने भनिएका विद्युतीय बस लामो समयदेखि रोकिएका थिए।

