त्रिकोणात्मक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा मलेसियाकाे विजयी सुरुआत

काठमाडौं, १५ चैत – मलेसियाले त्रिकोणात्मक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा विजयी सुरुआत गरेको छ । टियु क्रिकेट मैदानमा मंगलबार पपुवा न्युगिनी (पीएनजी) लाई ८ रनले पराजित गर्दै मलेसियाले विजयी सुरुआत गरेको हो ।

पीएनजीले भने लगातार दोस्रो हार ब्यहोरेको छ । पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो । मलेसियाले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७२ रन मात्र बनाउन सक्यो ।

पीएनजीका लागि टोनी उराले ५६ रनको अर्धशतकीय इनिङ खेले । यस्तै नोर्मान भानुवाले ४५ रन बनाए । सिमोन अटाइले १५ रन जोड्दा असाद भाला ११ रनमा आउट भए ।

मलेसियाका लागि शर्भिन मुनियाण्डीले ४ विकेट लिए । यस्तै मुहमद वाफिक र विरन्दिप सिंहले ३/३ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।

मलेसियाका लागि कप्तान अहमद फाईज र विरन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले । विरन्दिपले अविजित रहदै ५९ रन जोड्दा अहमद ५६ रनमा आउट भए । यस्तै साएद अजिज ४७ रनमा आउट भए । पीएनजीका नोर्मन भानुवाले २ तथा नोसेन पोकानाले १ विकेट लिए ।

Facebook Comments Box