आयल निगमको मासिक १० अर्ब घाटा हुने : निगम

काठमाडौं, २६ फागुन – अन्तर्राष्ट्रिय बजारमा अहिलेकै गतिमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाँदा प्रतिमहिना निगम १० अर्ब रुपैयाँसम्म घाटामा जान सक्ने नेपाल आयल निगमले बताएको छ । रुस र युक्रेनबीचको द्वन्द्वका कारण पछिल्लो समय डलरको मूल्य अत्यधिक बढ्दै गएकाले प्रेट्रोलियम पदार्थको मूल्य बढ्दा निगमलाई प्रतिमहिना १० अर्ब रुपैयाँसम्म घाटा हुने निगमले बताएको छ ।

निगमले अमेरिकी डलरको मूल्य ९५ रुपैयाँ हुँदा निर्धारण गरेको मूल्य अहिले बढेर १५ दिनमा दुई अर्ब रुपैयाँ घाटा र महिनाको पाँच अर्ब रुपैयाँ घाटामा पुगेको अवस्था रहेको जनाएको छ ।

बुधवार सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा निगमसँग गरेको छलफलमा बोल्दै नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले अहिलेकै गतिमा प्रेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाँदा प्रतिमहिना निगम १० अर्ब रुपैयाँले घाटामा जाने बताए ।

उनले अब निगम घाटामा जाने कुरा मात्रै नभएर आउँदा दिन पेट्रोलियम पदार्थ खरिद गरेको पैसा कसरी तिर्ने भन्ने चिन्ता बढ्दै गएको बताए। चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म निगम झन्डै २८ अर्ब रुपैयाँ घाटामा गएको कार्यकारी निर्देशक भट्टराईले समितिलाई जानकारी दिए।

त्यस्तै कार्यकारी निर्देशक भट्टराईले आयल निगम प्रतिमहिना न्यूनतम दुई अर्ब र बढीमा ६ अर्ब रुपैयाँ ले घाटामा रहेकाले पछिल्लो अवधिमा निगमको सञ्चितिमा रहेको सबै नाफासमेत सकिएको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि अघिअघि निगम पछिपछि भएकाले अहिले यथास्थितिमा पुगेको दाबी गरे।

त्यस्तै समितिको छलफलमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा।गणेशप्रसाद पाण्डेले मन्त्रालय आयल निगमलाई कसरी बचाएर पेट्रोलिय पदार्थको आपूर्ति गर्ने भन्ने चिन्तामा रहेको बताए। उनले अहिलेको अवस्थामा आयल निगमलाई बचाउनका लागि सबैको सहयोग माग गरे।

Facebook Comments Box