आज देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने
काठमाडौं, २२ फागुन – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।
आज दिउँसो देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, राती देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
त्यस्तै, सोमबार दिउँसो देशको सुदूरपश्चिम, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राती देशको सुदूरपश्चिम, कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। साथै गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

