राष्ट्रिय जनमोर्चाले गठवन्धनबाट बाहिरिने निर्णय

काठमाडौं, १६ फागुन – संसदबाट हिजो एमसीसी सम्झौता पारित भएसँगै सत्तारुढ गठवन्धनमा यसको पहिलो पराकम्प देखिएको छ । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले गठवन्धनबाट बाहिरिने निर्णय लिएको छ ।

एमसीसी सम्झौता सदनबाट अनुमोदन भएको भोलिपल्टै राजमोले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । गठबन्धनमा कांग्रेस, माओवादी नेकपा समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा गरी पाँचवटा दल थिए । सदनमा जनमोर्चाको एक सांसद छन् । सरकारमा भने राजमोको प्रतिनिधित्व छैन ।

सोमबार बसेको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।‘राष्ट्रघाती एमसीसी अनुमोदन गरेपछि आज बसेको पार्टीको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो,’ अध्यक्ष केसीले भने ।

पछिल्लो समय गठबन्धन बैठकमा आफूहरुलाई सहभागी नगराएको गुनासो गर्दै आएको राष्ट्रिय जनमोर्चा अन्ततः गठबन्धनबाट बाहिरिएको हो । यससँगै सत्तारुढ गठवन्धन ४ वटा दलमा खुम्चिएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले एमसीसीबारे व्याख्यात्मक घोषणपत्र जारी गर्दै एमसीसी सम्झौता अनुमोदन गरेको थियो । तर, यसलाई राष्ट्रघाती कदम भन्दै राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको हो ।

Facebook Comments Box