प्रादेशिक समन्वय समिति गठन गर्ने निर्णयप्रति महासङ्घ प्रदेश समितिको असन्तुष्टि

काठमाडौँ, ११ फागुन – नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले महासङ्घ केन्द्रीय समितिले प्रादेशिक समन्वय समिति गठन गर्ने निर्णयप्रति असन्तुष्टि जनाएको छ ।

प्रदेश समितिले आज एक विज्ञप्ति जारी गरी गत पुस ३० गते कपिलवस्तुको तिरौलाकोटमा सम्पन्न बैठकले केन्द्रीय समितिको तर्फबाट सम्बन्धित प्रदेश तथा जिल्ला शाखासँग समन्वय गर्नका लागि सम्बन्धित प्रदेशबाट केन्द्रीय सदस्यमा धेरै मत ल्याउने व्यक्ति संयोजक र अर्को केन्द्रीय सदस्य उपसंयोजक रहने गरी प्रादेशिक समन्वय समिति निर्माण गर्ने निर्णय भएको भन्दै असन्तुष्टि जनाएको हो ।

राज्यसहितका विभिन्न निकायले सङ्घीयता कार्यान्वयन गरेनन् भन्दै बारम्बार प्रश्न उठाउने पत्रकारकै साझा संस्था महासङ्घको बैठकले सङ्घीयताको मर्म र भावनाविपरीत प्रदेश समितिहरुलाई कमजोर बनाउने गरी विधानविपरीत समिति निर्माण गर्नु दुःखद् भएको महासङ्घ प्रतिष्ठान शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले बताउनुभयो ।

विधानले नचिन्ने प्रादेशिक समन्वय समितिप्रति प्रदेश समितिको असहमति रहेको उहाँको भनाइ छ । महासङ्घको विधानले कहीँकतै नचिन्ने सहमति गठन गरेर प्रदेश र शाखालाई अङ्कुश लगाउने गरी गठन भएका समिति आफूहरुलाई मान्य नहुने उहाँले बताउनुभयो ।

प्रदेश समितिले विधानविपरीत गरिने कुनै पनि कार्यमा आफ्नो साथ, समर्थन, सहयोग र सहभागिता नरहने स्पष्ट पारेको छ । संयुक्त विज्ञप्ति जारी गर्नेमा प्रतिष्ठानका अध्यक्ष अधिकारी, महासङ्घ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण, बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल, उपत्यकाका अध्यक्ष सिर्जन झा र एशोसिएट प्रदेशका अध्यक्ष वैकुण्ठ पराजुली रहनुभएको छ ।

Facebook Comments Box