’वाह रे ‘गठबन्धन’! वाह रे ‘गठबन्धन’ का निर्लज्ज सूत्रधार’ : ईश्वर पोखरेल
काठमाडौँ, ८ फागुन – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमसीसीका सन्दर्भमा सत्ता गठबन्धनको कडा आलोचना गरेका छन्।आइतबार प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबल भएपछि एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले आक्रोश पोखेका हुन्।
उनले सत्ता गठबन्धनलाई ‘अनुचित र अवैध गर्भाधानबाट जन्मेको’ टिप्पणी गर्दै आज उसले संसदमा ‘नाटक मञ्चन’गरेको आरोप लगाएका छन्।
उनले नाम नलिईकन मुख्यतया सभामुख अग्नि सापकोटाविरुद्ध तीखो आलोचना गरेका छन्। कुनै बेला एमसीसी प्रस्ताव गर्नुपरे संसदभित्रै मारिन तयार रहेको भन्ने सापकोटाले अहिले ‘लाजशरम पचाएर प्रक्रिया अघि बढाएको’ भनेर पोखरेलले आक्रोश पोखेका छन्।
‘सूत्रधारहरू मुसुमुसु हाँसेर बसिरहने। सँगैकाहरू सजिलै र अप्ठ्यारै गरी बसिरहने। अनुयायीहरू पछि बसेर विरोधमा नारा लगाइरहने,’ उनले भनेका छन्, ‘प्रस्ताव गर्नुपर्दा त बरु झुन्डिन तयार हुन्छु ‘भन्ने निर्लज्ज (खल) नायकचाहिँ सहज ढंगले लाजशरम पचाएर प्रक्रिया अगाडि बढाइरहने। वाह रे ‘गठबन्धन’! वाह रे ‘गठबन्धन’ का निर्लज्ज सूत्रधार’ वाह रे त्यसका भक्तजन र अनुयायीहरू।’

