विराट राजाग्राम बनाइने

विराटनगर, २५ माघ – मोरङको बुधनगर भेडियारीस्थित विराट राजाको दरबार भनिएको क्षेत्रलाई विराट राजा संरक्षित क्षेत्र बनाउन विराटनगर महानगरपालिकाले योजना अघि बढाएको छ । त्यस क्षेत्रलाई ‘विराट राजा ग्राम’ नामाकरण गरिने र सो कार्यका लागि कम्तीमा १३९ बिघा जग्गा आवश्यक पर्ने महानगरपालिकाको दीगो विकास योजनामा छ ।

महाभारत, शिवपुराणजस्ता धार्मिक ग्रन्थमासमेत उल्लेख भए अनुसार गङ्गा सागरको उत्तर पूर्वी हिमाल छेउमा विराट राजाको दरबार उल्लेख भएकोले यो क्षेत्रमा रहेको भग्नावशेष, ऐतिहासिक एवं प्राचीन वस्तुले गर्दा त्यही क्षेत्र विराटराजाको दरबार हुनसक्ने महानगरप्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।

पाँच पाण्डव र द्रौपदीसमेत गुप्तवास बसेको सो ठाउँमा भगवान् श्रीकृष्णले पनि पाण्डवलाई भेट्न आएको महाभारतमा उल्लेख छ भन्दै उहाँले यस क्षेत्रमा पर्यटकको ध्यान आकर्षित गराउन करिब रु १० अर्ब खर्च लाग्ने बताउनुभयो ।

महानगरप्रमुख पराजुलीले महानगरपालिकाको स्रोतले मात्र नभइ सङ्घीय र प्रदेश सरकार समेतले यो क्षेत्रको विकास ध्यान दियो भने विराटनगर मात्र होइन नेपाललाई नै चिनाउन मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीयवासी नारायण यादवले यहाँ देखिएको एउटा रुख धेरै पहिले एक इञ्जिनीयरले काट्न लगाएपछि उहाँको मृत्यु भएको र सो ठाउँमा अहिले सातवटा रुख पलाएको देखिन्छ, जुन निकै पुरानो र चिन्न नसकिने भए पनि त्यसको बोक्रा कोट्याउदा रगत बगेजस्तो देखिने जानकारी दिनुभयो ।

सो कुरामा सहमति जनाउँदै अर्का स्थानीयवासी सुगनलाल यादवले यसलाई हामीले विराट राजाकै दरबार भनेर चिनेका छौँ, यसको महत्व र गरिमालाई कायम राख्न यो क्षेत्रको विकास गरिनुपर्नेमा उहाँले पनि जोड दिनुभयो ।

यो क्षेत्रमा हालै मात्र पुरातात्विक विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिएअनुसार उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष नपाइए पनि यो क्षेत्र निकै पुरानो भएृको बताइएको छ ।

विराट राजाको दरबार क्षेत्र भनिएको स्थानमा विसं २०२६ मा पुरातात्विक विभागबाट आउनुभएका अधिकृत तारानाथ मिश्रले विभागका प्रकाश दर्नाल, उद्धव आचार्य, शालिकराम कट्टेल, सन्दीप खनालले थोरबहुत उत्खननको काम गरिसकेपछि गत पुस २६ गतेदेखि माघ १० गतेसम्म अर्का अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खननको काम भएको जानकारी दिनुभयो ।

उहाँले विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन गर्दा एउटा ऐतिहासिक मन्दिर देखिएको र मन्दिरदेखि २०० मिटरपश्चिम स्थानीय महेन्द्र मण्डलले जोतभोग गरेको जग्गामा उत्खनन गर्दा दोस्रो शाताब्दीमा घनाबस्ती रहेको हुनसक्ने अनुमान गरिएको जानकारी दिनुभयो ।

उत्खनन गर्दा खासै महत्वपूर्ण वस्तु फेला नपरेपनि त्यस समयमा प्रयोग हुने ३४ सेमी लम्बाइ, २५ सेमी चौडाइ र पाँच सेमी मोटाइ भएको इँटा पाइएको थियो । त्यहाँ माटाका अन्य सामग्री पनि फेला परेको र यसलाई सफा गरेर प्याकेजिङको काम भइरहेको बताइएको छ । मानवबस्ती, एकीकृत भन्सार जाँचचौकीसमेतले अतिक्रमण गरेको विराट राजाको दरबार क्षेत्र अहिले खुम्चिएको छ ।

त्यहाँ अहिलेसम्म करिव १३ देशका पुरातात्विक क्षेत्रका विज्ञले अवलोकन गरिसकेको विराट राजाको रेखदेख एवं संरक्षणमा लाग्नुभएका स्थानीय कमलकिशोर यादवले जानकारी दिनुभयो । उहाँले विराट राजाकै दरबार हो भन्ने कुरामा दुई मत नरहेको भन्दै उक्त दरबार लगभग डेढकिमी उत्तर पूर्व, दक्षिण र पश्चिमसम्म फैलिएको अनुमान गर्न सकिन्छ भन्नुभयो ।

संरक्षक यादवले यहाँ फेला परेका वस्तुमा सिमाला, पुवाँलो, पुलिङ, रत्न, निलम, ग्रेनाइट, लसुनिया, गमेद, लाल मुँगा र रुवेस्ट तथा केही सिक्का सुरक्षित रहेको जानकारी दिनुभयो । विसं २०५२ मा सपना देखेर नै यसको रेखदेख एवं संरक्षणमा लागेदेखि आफूले यहाँ अतिमूल्यवान वस्तु फेला पारेको र यी सबै आफ्नै सङ्ग्रहालयमा सुरक्षित रहेको जानकारी दिनुभयो ।

प्रचारप्रसार हुन नसक्नाका साथै उत्खननबाट वास्तविक पहिचान हुननसकेको यो क्षेत्रमा तत्कालीन प्रदेश नं २ र १ का प्रमुख डा राजेश झा, सोमनाथ अधिकारी ‘प्यासी’ लगायतले अवलोकन गर्नुभएको थियो । यो क्षेत्रको विकासमा विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति थोरै मात्रामा भए पनि मद्दत गरेको स्थानीय युवा मुकेश यादवले बताउनुभयो ।

विराट राजा दरबार क्षेत्रमा किचकबध पोखरीसहित थप संरचना देखिएको विभागका अधिकृत ज्ञवालीले प्रष्ट पार्दै भन्नुभयो,“झापाको किचकबध र यो विराट राजाको दरबारको भग्नावशेष हेर्दा एउटै समयको भएको देखिएको छ ।”

Facebook Comments Box