मधेस प्रदेश : लक्षित जनसङ्ख्याको ४४ प्रतिशतले लगाए पूर्ण डोज र ११ हजारले लगाए बुस्टर डोज खोप
धनुषा, १० माघ – कोरोना भाइरसको तेस्रो लहर चलिरहेको समयमा मधेश प्रदेशमा हालसम्म लक्षित जनसङ्ख्याको ४४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज लगाएका छन् । साथै करिब ११ हजार नागरिकले बुस्टर डोज लगाएका छन् । मधेश प्रदेशमा हालसम्म १२ वर्षदेखि माथिका ४४.२ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ ।
निर्देशनालयको तथ्याङ्कअनुसार सर्लाहीमा ५५.५, बारामा ४९.४, धनुषामा ४९.१, पर्सामा ४३.८, सप्तरीमा ४२.७ प्रतिशत, सिरहामा ४०.७, महोत्तरीमा ३५.४ र रौतहटमा ३४.७ प्रतिशत लक्षित नागरिकले कोरोना विरुद्धको खोपको पूर्ण डोज लगाएका छन् ।
त्यसैगरी नेपाल सरकारले अग्रपङ्क्तिमा खटेकालाई बुस्टोर डोज दिन सुरु गरेकामा मधेश प्रदेशमा करिब ११ हजारले बुस्टर डोज लगाएका छन् । स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले आइतबारसम्ममा मधेश प्रदेशमा १० हजार ९९८ जनाले बुस्टर डोज लगाएकोे जानकारी दिनुभयो ।
बारामा सबैभन्दा बढी तीन हजार २२० जनाले बुस्टर डोज लगाएका छन् । त्यस्तै सर्लाहीमा दुई हजार २६, धनुषामा एक हजार ९६०, रौतहटमा एक हजार ८२३, सिरहामा एक हजार ८७, महोत्तरीमा ४१६, सप्तरीमा ३२१ र पर्सामा १०० जनाले बुस्टर डोज लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशक झाका अनुसार प्रदेशमा हालसम्म कूल जनसङ्ख्याको ३४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज र ३९.५९ प्रतिशत नागरिकले पहिलो डोज लिएका छन् । प्रदेशमा कूल ६३ लाख ४३ हजार ९७० जना जनसङ्ख्या रहेकोमा आइतबारसम्म २१ लाख ५६ हजार ९६४ जना अर्थात ३४ प्रतिशतले खोपको पूर्ण डोज लगाएका छन् ।
प्रदेशमा कूल जनसङ्ख्यामध्ये १८ वर्षभन्दा माथिका ६६ प्रतिशत अर्थात ४१ लाख ६० हजार ४२५ र १२ देखि १७ वर्षसम्मका ११ प्रतिशत नागरिक अर्थात सात लाख १५ हजार ३४२ जनालाई खोप दिने लक्ष्य रहेको छ ।
लक्ष्यअनुसार भने मधेश प्रदेशमा १८ वर्षभन्दा माथिका ५१.८ प्रतिशत नागरिकलाई खोपको पूर्ण डोज र ६०.४ प्रतिशत नागरिकले पहिलो डोज लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । बाह्र वर्षदेखि १७ वर्षसम्मका भने ६७.२ प्रतिशतले खोपको पहिलो मात्रा लिएका छन् ।
पूर्ण डोज लिनेमा सबैभन्दा बढी पर्सामा पाँच लाख २८ हजार ३१६ जनाले रहेका छन् । त्यस्तै सर्लाहीमा तीन लाख ८७ हजार ६५९, धनुषामा तीन लाख २१ हजार ७५४, बारामा तीन लाख २० हजार ८५१, सप्तरीमा दुई लाख ३६ हजार ३१६, रौतहटमा दुई लाख २९ हजार ३८१, सिरहामा दुई लाख २० हजार ३७७ र महोत्तरीमा एक लाख ९५ हजार ५९८ जनाले भ्याक्सिन लगाएका छन् ।

