आज देशभरका विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना

काठमाडौँ, ९ माघ – आज देशभर विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो। साथै देशका बाँकी प्रदेशका पनि थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएकाे छ।

यस क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना पनि छ। महाशाखाका अनुसार अहिले पनि सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

यस्तै आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिइएको छ। साथै देशका बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यस क्रममा देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना पनि रहेको छ।

आगामी २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ।

Facebook Comments Box