क्यानका ६ जना केन्द्रीय सदस्यहरुले खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन आग्रह

काठमाडौं, ७ पुस – नेपाल क्रिकेट संघ (क्यान) का ६ जना केन्द्रीय सदस्यहरुले खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन आग्रह गरेका छन्।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरी क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतारा, मोहम्मद दाउद अन्सारी, सञ्जय राज सिंह र छुम्बी लामा (राखेप प्रतिनिधि) ले खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन आग्रह गरेका हुन्।

उनीहरुले नेपालमा सञ्चालन भएको ट्राइ नेसन टि–२० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलाडीमाथि कारबाही गरिएको आरोप लगाएका छन्।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उनीहरुले ‘नेपाल क्रिकेट संघ विधि र पद्दति अनुसार चलोस्, आर्थिक कारोबार लगायत विधानमा उल्लेख भएअनुसार पारदर्शी ढंगले कार्ययोजना अनुसार सञ्चालन होस्’ भनेका छन्।

गत बुधबार बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय टोलीको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो। उनीहरुसँगै अनुशासन उल्लंघन गरेको पाइएका सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाको केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय गरेको थियो।

Facebook Comments Box