नेपाली कांग्रेस तस्करहरुको र भ्रष्टहरुको पार्टी हुन लाग्यो : अर्जुन नरसिंह केसी
काठमाडौं, २९ मङ्सिर -नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीमा बासी बानी र बासी विचार बोकेर हिँड्ने झुण्डलाई तोड्नुपर्ने बताएका छन्। शेखर कोइराला समूहले महाधिवेशन प्रतिनिधिका लागि गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
‘अब हामीले बासी बानी र बासी विचार बोकेर हिँड्ने झुण्डलाई तोड्नुपर्छ’, उनले भने, ‘यो यात्रामा हिँड्नेहरुले गन्तव्य फेला परिसकेपछि अघि बढ्नुस्। हरेक ठाउँमा विद्रोह गरेर जाने सहास गर्नुस्।’
केसीले मतदानमा हार्दैमा सबै नसकिने बताए। ‘मतदानमा हार्नुको अर्थ सबै सकियो भन्ने होइन। सफलता प्राप्त गर्नु अन्तिम होइन, हार्नु मृत्यु होइन’, उनले भने।
केसीले ठूला भ्रष्टाचारकाण्ड पनि हारको कारण भएको बताए। ‘यत्रा ठूला भ्रष्टाचार काण्ड छन्। हाम्रो समूहको हारको कारण यो पनि हो कि?’, उनले भने,’हामीले सबै भ्रष्टाचारका काण्डमा पार्टीमा प्रस्ताव पेश गरेर न्यायिक आयोग बनाइ छानबिन गर्नुपर्छ। चर्चित भ्रष्टाचार काण्ड पनि हाम्रा पराजका कारण हुन सक्छन्।’
केसीले पार्टी भ्रष्टहरुको हातमा जान लागेको पनि बताए। ‘हामी सचेत नभए कांग्रेस नवधनाढ्य तस्करहरुको पार्टी हुनेछ। भ्रष्टहरुको पार्टी हुनेछ’, उनले भने, ‘यही थिति रह्यो भने कसैले पनि राजनीति नगर्ने परिस्थिति बन्नेछ।’

