न्युजिल्याण्डविरुद्धको टी-२० सिरिजमा रोहित शर्माले भारतको कप्तानी गर्ने, कोहलीलाई आराम
काठमाडौँ, २४ कात्तिक – भारत र न्युजिल्याण्डबीच नोभेम्बर १७ देखि सुरु हुन गइरहेको टी–२० सिरिजमा भारतीय टोलीको कप्तानी रोहित शर्माले गर्ने भएका छन्। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले न्युजिल्याण्डसँग खेल्ने टोलीको घोषणा गर्दै रोहित शर्माले विराट कोहलीको स्थान लिने बताएको हो।
विराट कोहलीलाई आराम दिइएको बीसीसीआईले बताएको छ। हालै मात्र टी–२० विश्वकपमा भारत सुपर१२ को समूहचरणबाटै बाहिरिएको छ। कोहलीले यसअघि नै टी–२० विश्वकपपछि भारतीय टोलीको कप्तानी नगर्ने घोषणा गरेका थिए।
बीबीसीआईले घोषणा गरेको टोलीमा विश्वकप खेलेका रवीन्द्र जडेजा, जसप्रित बुमराह, मोहम्मद शमी, हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीलाई पनि समावेश गरिएको छैन। टोलीको उपकप्तानको जिम्मेवारी केएल राहुललाई दिइएको छ।
न्युजिल्याण्ड विरुद्ध खेल्ने भारतीय टिममा रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), रुतुराज गायकवाड, श्रेयास अयेर, सुर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), इशान किसन (विकेटकिपर), बेनकाटेस अयेर, युजभेन्द्र चाहल, रविचन्द्रन आश्विन, अक्सर पटेल, आभेष खान, भुवनेश्वर कुमार, दीपक चाहर, हर्षल पटेल, मोहम्मद सिराज रहेका छन् ।

