एमालेले बाढी तथा डुबानका कारण धानबाली सखाप भएका किसानलाई राहत दिन सरकारसँग माग

काठमाडौँ, २ कात्तिक – प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले बाढी तथा डुबानका कारण धानबाली सखाप भएका किसानलाई राहत दिन सरकारसँग माग गरेको छ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार विज्ञप्ति प्रकाशित गरी ‘वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न’ सरकारसँग माग गरेका हुन्।

विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठूलो क्षति भएको छ। एमालेले बेमौसमी वर्षाका कारण पुग्न गएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख र चिन्ता व्यक्त गरेको छ।

यस्तै, अवरुद्ध यातायातलगायत सेवाहरू तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्तिहरु र संकटमा परेका पर्यटकहरुको तत्काल उद्धार गर्न ध्यानाकर्षण गराइएको छ।

मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आम नेपालीहरूले अप्रत्यासित रुपमा आउने यस्ता विपत्तिहरूको पूर्व जानकारी पाउने व्यवस्था सुनिश्चित गर्न पनि एमालेले सरकारसँग माग गरेको छ।

Facebook Comments Box