सरकारसँग सहमति भएसँगै नेपालगञ्जकी महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडिन्

काठमाडौँ, २ कात्तिक – सरकारसँग सहमति भएसँगै नेपालगञ्जकी महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडनु भएको छ ।
गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाउने सहमतिसँगै रुबीले १३ दिन लामो तोडनु भएको हो ।

माइतीघर मण्डलामा मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाउनु भएको हो । यस अघि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको वार्तामा छानविन समिति बनाउने, समितिमा मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवानलाई पनि राख्ने, ७ दिनभित्र प्रतिवेदन बुझाउने सहमति भएको थियो ।

गृहमन्त्री बालकृष्ण खाँडले आन्दोलनरत पक्षसँग समितिको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको गृह प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । अनसन तोडाउनु भएको रुबीले सरकारसँग भएको सहमति सम्पूणर् महिलाहरुको जित भएको बताउनुभयो ।

रुबीले समितिले सत्यतथ्य बाहिर ल्याउन कुनै चुक गर्यो भने यो भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र हत्या तथा नकुन्नी धोबीको हत्या भएको भन्दै मुस्लिम समाज चेतना केन्द्रले जिल्ला प्रहरी कार्यालय, बाँकेमा जाहेरी दिएको थियो ।

त्यसबारे प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै रुबी नेतृत्वको टोली नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएको थियो । काठमाडौंमा आएर धर्ना शुरु गरे लगतै प्रहरीले धरपकड गरी रुबीलाई पुनः नेपालगञ्ज पुर्‍यायो ।

प्रहरीले उनलाई अदालतबाट टुंगो लागिसकेको बहुबिवाहको मुद्दामा समेत फसाउन खोजेको थियो । तर सर्वोच्च अदालतले तत्काल रिहा गर्न आदेश दिएपछि रुबीलाई छाड्न प्रहरी बाध्य भएको थियो ।

Facebook Comments Box