सत्तारुढ दलकै सांसदले प्रदेश १ का मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीले मनोमानी गरेको आरोप

विराटनगर , १६ फागुन – सत्तारुढ दलकै सांसदले प्रदेश १ का मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीले मनोमानी गरेको आरोप लगाउँदा प्रमुख प्रतिपक्षी दलका सांसदको समर्थन पाएका छन् ।

सोमबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेस सांसद ज्योति सुब्बाले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मनोमानी गरेको आरोप लगाएकी थिइन् ।

सरकारको निर्णयमा कांग्रेसका मन्त्रीहरुलाई बाइपास गर्ने गरेको उनको गुनासो छ । सुब्बाले कांग्रेसलाई बाइपास गर्ने भए गठबन्धनमा नबस्ने चेतावनी दिदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदले ताली बजाएका थिए ।

‘प्रदेशमा गठबन्धनको सरकार छ । तर मुख्यमन्त्री र अर्थमन्त्रीले आफूखुसी काम गर्छन् किन ?’ उनले भनिन्, ‘क्याबिनेट डिसिजनमा हाम्रा मन्त्रीहरुले भाग लिन पाउने कि नपाउने ? दुई जनाले मात्रै डिसिजन गर्ने हो भने हामी गठबन्धन सरकारमा बस्न चाहदैनौं, हामीलाई यस्तो सरकार चाहिदैन् ।’

Facebook Comments Box