काठमाडौं र भक्तपुरले बिहीबार जारी गरेको आदेशप्रति गृह मन्त्रालयको ध्यानाकर्षण
काठमाडौँ, १५ असोज – स्वास्थ्य मापदण्ड पालना गरेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज नलगाउने सरकारले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं र भक्तपुरले बिहीबार जारी गरेको आदेशप्रति गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो आदेश नेपाल सरकारको नभएको जनाएको छ।
‘नेपालको संविधान, प्रचलित कानुन र कोभिड १९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्ड भित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उदेश्य नभएको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ’, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै भनेका छन्।
यसअघि बिहीबार नै दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीले भीडभाड हुने कुनै पनि गतिविधि नगर्न आदेश दिएका थिए। काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले बिहीबारदेखि महोत्सव, जात्रा, उत्सव, सभा जुलुस, जात्रा, भजन कीर्तन र भोज भतेर लगायतका कार्यक्रममा निषेध गरेका थिए। प्रशासनले थोरै भन्दा थोरै र घरका मात्रै सदस्यहरुको सहभागितामा सामान्य रुपमा चाडपर्व मनाउन पनि भनेको थियो।

