आज देशभर आंशिक देखि सामान्यसम्म बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना
काठमाडौँ, १५ असोज – मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ। गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
यस्तै आज दिउँसो देशभर मौसम सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र अरू प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार मनसुन अन्तिम चरणमा रहेकाले धेरै ठूलो वर्षा तथा लगातारको झरी हुने सम्भावनाचाहिँ छैन। हल्का र क्षणिक वर्षा हुने सम्भावना छ।
यस क्रममा काठमाडौं उपत्यकामा पनि अहिले बिहानदेखि नै हल्का वर्षाको सम्भावना रहेको उनले बताए। ‘तर त्यस्तो लगातारको झरी हुँदैन, हल्का वर्षा हुने खुल्ने यस्तो भइरहन्छ’ उनले भने।
यस्तै राति देशभर आंशिक देखि सामान्यसम्म बदली रही प्रदेश २ का धेरै र अरू प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।

