प्रदेश १ मा सञ्चालन भइरहेका सार्वजनिक सवारीसाधनको २३ प्रतिशतसम्म भाडा बढ्याे

विराटनगर, ३ भदौ – प्रदेश– १ मा सञ्चालन भइरहेका सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यात्रुवाहक एवं मालवाहक सवारीसाधनको भाडा २३ प्रतिशतसम्म बढाइएको सूचना सार्वजनिक गरेको हो।

वृद्धि गरिएको भाडादर भदौ १ देखि नै प्रदेशभर सञ्चालन हुने सवारीसाधनमा लागू भएको मन्त्रालयको सूचनामा उल्ल्ेख छ। पहाडी रूटमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा १६.५, यात्रुवाहक सवारीमा २२ र तराईमा सञ्चालन हुने मालवाहक सवारीमा २३ प्रतिशतसम्म भाडा वृद्धि गरिएको सूचनामा उल्लेख छ।

श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी, मुनाफालगायत सूचकहरूमा देखिएको मूल्यवृद्धिका आधारमा भाडा बढाइएको मन्त्रालयले जनाएको छ।
प्रदेशको भाडा निर्धारण परामर्श समितिको गत साउन १७ गते बसेको बैठकले भाडा वृद्धिका लागि सरकारलाई सिफारिश गरेको थियो

संघीय सरकारले अन्तरप्रदेश सञ्चालन हुने सवारी साधनको भाडामा २८ प्रतिशतसम्म वृद्धि गरेको थियो। संघीय सरकारले बढाएको उक्त भाडादर असार २९ गतेबाटै लागू भइसकेको छ।

Facebook Comments Box