शान्ति, स्थायित्व र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले बहुवर्षीय योजना ल्याउनुपर्ने

मकवानपुर, १ भदौ – बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा शून्य समयमा बोल्नुहुने प्रदेशसभा सदस्यले तत्काल अफगानिस्तानमा विचल्लीमा परेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउन सरकारसँग माग गर्नुभयो ।

उहाँहरुले जनतालाई शान्ति, स्थायित्व र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले बहुवर्षीय योजना ल्याउनुपर्ने तर आ–आफ्नो दलगत स्वार्थको लागि बजेट विनियोजित गर्ने कामलाई प्रदेश सरकारले त्यागेर स्वास्थ्योपचारको कार्यमा गुणस्तरीयता प्रदान गर्नेतर्फ बजेट विनियोजित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रदेशसभाका सदस्य नरोत्तम वैद्य, राजेन्द्र गुरुङ, रिना गुरुङ, सिर्जना सैंजु, रत्नप्रसाद ढकाल, रमेशप्रसाद पौडेल, शोभा शाक्य, प्रदीपकुमार कटुवाल, शेरजङ्ग थापा, जुनेलीमाया श्रेष्ठ, चेतनाथ संजेल, सरस्वती राई र सीता माझीले बैठकमा शून्य समयमा राष्ट्रिय सरोकारको विषयमा आ–आफ्नो धारणा व्यक्त गर्नुभयो ।

उक्त बैठकमा आर्थिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले गत असारमा सिन्धुपाल्चोक, भोटेकोशी, मेलम्ची, चितवन, गोर्खालगायतका जिल्लामा बाढीपहिरोबाट प्रभावित सर्वसाधारण जनतालाई प्रत्यक्ष राहतस्वरुप खाद्यान्न र नगदसमेत उपलब्ध गराइसकिएको पनि जानकारी गराउनुभयो ।

बैठकमा प्रदेशसभाका सदस्य जुनेलीमाया श्रेष्ठले प्रदेशसभा नियमावली २०७४ को नियम २१६ को उपनियम (३) बमोजिम नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावमाथि रमेश पौड्याल, निमा लामा, मीना खनाल र रत्नप्रसाद ढकालले समर्थन जनाउनुभएको थियो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले गत असारमा विभिन्न शीर्षकको चार वटा विधेयकमाथि प्रमाणीकरण गर्नुभएको सूचना आज सार्वजनिक गर्नुभएको थियो । सभामुख श्रेष्ठले अर्को बैठक भोलि दिनको ११ बजे बस्ने गरी स्थगित गर्नुभएको थियो ।

Facebook Comments Box