काठमाडौँ उपत्यकामा ७३९ जना सहित देशभर थप २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ३१ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७३९ जना सहित देशभर थप २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५२२, भक्तपुरमा ६३ र ललितपुरमा १५४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ८८ आरटी पीसीआर तथा ४ हजार १८ एन्टीजेन परिक्षण सहित १२ हजार १०६ जनाको परिक्षण गर्दा २ हजार २१२ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ७ हजार ४०२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ८६७ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ८२ हजार ६८२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार २९२ रहेको छ

