कागेश्वरी मनोहरा प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी
काठमाडौं, ६ जेठ – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र कार्की र उपप्रमुखमा एमालेकी शान्ता थापा विजयी भएका हुन् ।
कार्की ११ हजार ३२२ मतसहित नगरप्रमुख चुनिंदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत पाए । नेकपा एकीकृत समाजवादीका कृष्णहरी थापाको पक्षमा ३ हजार ५५६ र राप्रपाका राजु फुयालको पक्षमा १ हजार ४१८ मत पर्यो ।
यसैगरी नगर उपप्रमुखमा नेकपा एमालेकी शान्ता थापा ९ हजार ८७५ मतसहित विजयी भइन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भोला चापागाईंलाई ४ हजार ४५३ मत अन्तरे हराइन् ।
चापागाईंले ५ हजार ४२२ मत मात्र प्राप्त गरे । नेकपा एकीकृत समाजवादीकी सरस्वती नेपालले २ हजार ६९३ र राप्रपाकी सरीता बजगाई चापागाईले २ हजार २५८ मत पाइन् ।

