काठमाडौंमा गैरकानुनी रूपमा बस्दै आएका पाँच विदेशी नागरिक पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बस्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बलको १८ नम्बर गणको संयुक्त टोलीले सोमबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बङ्गलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह र बङ्गलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा रहेका छन्। रोनित रोय चौधरी बस्दै आएको कोठाबाट नौ जना बङ्गलादेशी नागरिकका १४ थान राहदानी र आर्थिक कारोबारको विवरण उल्लेख गरिएका दुई थान डायरीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, जाहिंगिर आलममाथि एक बङ्गलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको खुलेको छ। नियन्त्रणमा लिइएका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

