आठपहरिया समुदायमा न्वागी अर्थात् भदौरे चाड सुरु
धनकुटा । धनकुटाको आठपहरिया समुदायले आफ्नो मौलिक भाषा, संस्कार, संस्कृति र परम्परासँग जोडिएको न्वागी अर्थात् भदौरे चाड मनाउन सुरु गरेको छ। नयाँ बाली पाकेपछि कुलदेवता तथा पितृलाई चढाएर मात्र आफूले खाने परम्पराअनुसार यो पर्व मनाइन्छ।न्वागी चाड भदौ शुक्ल पूर्णिमापछिको मंगलबारदेखि आइतबारसम्म छ दिन मनाउने चलन छ। चाडको पहिलो दिन मंगलबार मार्गाथान सरसफाइ गरी सुरु गरिएको हो।
दोस्रो दिन बुधबार ओमाडाम अर्थात् मार्गाथानमा कुखुराका चल्लाको पूजा गरिन्छ। तेस्रो दिन राँगाको भेजो लगाउने, चौथो दिन भेजो मार्गाथानमा चढाएर पितृपूजा गर्ने परम्परा छ। पाँचौँ दिन शनिबार सामूहिक वनभोज खाने र छैटौँ दिन आइतबार चाडको विसर्जन गरिन्छ।
किरात आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाका अनुसार नयाँ बाली भित्र्याएपछि पहिले कुल तथा पितृलाई चढाउने र त्यसपछि मात्रै खाने चलन छ। वैशाखमा बाली लगाउँदा कुल तथा पितृसँग वर्षाका लागि प्रार्थना गर्ने र भदौ–असोजमा बाली फलाउन सहयोग गरेको भन्दै नयाँ अन्न चढाउने परम्परा रहेको उहाँले बताउनुभयो।
न्वागीमा कुलपितृ तथा मार्गा देवतासँग ‘वर्षा गराएर बाली फलाउन सहयोग गरेकाले अब तपाईं पनि खानुहोस्, हामी पनि खान्छौँ’ भन्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको आठपहरिया समुदायको भनाइ छ। आठपहरिया समुदायले न्वागी अर्थात् भदौरे, विसु अर्थात् वैशाखे र वाडाङ्मेट अर्थात् मंसिरे गरी तीन प्रमुख चाड मनाउने गरेका छन्। यी पर्वका अवसरमा समुदायका २२ थलोमा रहेका २२ मार्गाथानी तथा ५२ चुले अर्थात् ठूला घरमा विशेष पूजा गर्ने परम्परा छ।
तीनमध्ये वाडाङ्मेटलाई आठपहरिया समुदायको मुख्य चाड मानिन्छ। वर्षभरिका शोकलाई सामूहिक रूपमा उकास्ने तथा जेठो सन्तान जन्मिएको र नयाँ घर निर्माण भएको खुसीयालीमा यो पर्व मनाइन्छ। यस अवसरमा ढोल, मारुनी र डल्लो नाचलगायत सांस्कृतिक गतिविधि गरिन्छ भने पैसाको माला दान गर्ने चलनसमेत छ।
त्यस्तै, वैशाखमा आठ दिनसम्म विसु चाड मनाउने गरिन्छ। भूमिपूजा, देवस्थल सरसफाइ, बली, पितृपूजा, सामूहिक वनभोज, धनुषबाणबाट तारो हान्ने तथा बिदाइ पूजालगायतका गतिविधिसहित विसु मनाउने परम्परा रहेको किरात आठपहरिया समाजका केन्द्रीय अध्यक्ष अष्टमान आठपहरियाले बताउनुभयो।

