कालीगण्डकीको बाढीले पर्वतमा २० भन्दा बढी घर बगायो

पोखरा । अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्से क्षेत्रमा २० भन्दा बढी घर बगाएको छ । वडाध्यक्ष हरि विकास जिसीका अनुसार बाढीले अहिलेसम्म २० देखि २५ वटा घर बगाइसकेको छ । बाढीको बहाव अझै बढ्दै गएकाले सयभन्दा बढी घर जोखिममा रहेको उहाँले बताउनुभयो ।

कालीगण्डकीको बाढी बस्तीतर्फ पस्ने क्रमसमेत बढेको छ । बाढीका कारण स्थानीय विद्यालय, कृषि फर्म तथा गोठसमेत बगाएको वडाध्यक्ष जिसीले जानकारी दिनुभयो । बाढीले ठूलो मात्रामा भौतिक संरचना तथा धनमालमा क्षति पुर्‍याए पनि हालसम्म मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो । स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । बाढीको जोखिम बढ्दै गएकाले अहिले स्थानीयवासीलाई सुरक्षित राख्नेतर्फ ध्यान केन्द्रित गरिएको वडाध्यक्ष जिसीले बताउनुभयो ।

Facebook Comments Box