२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन

काठमाडौँ, ८ साउन – भारतीय अभियन्ता सोनम वाङचुकले २६ दिन लामो अनशन अन्त्य गरेका छन्। भारतमा विभिन्न परीक्षाका प्रश्नपत्र चुहिएको घटनापछि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै अनशनमा बसेका ५९ वर्षीय वाङचुकले बिहीबार राति सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफूले विभिन्न सर्तमा भएको छलफल र देशमा सम्भावित हिंसाको अवस्थालाई ध्यानमा राख्दै अनशन तोडेको जानकारी दिएका हुन्। उनले अनशन अन्त्यका सर्तबारे छुट्टै भिडियोमार्फत जानकारी दिने बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट रोक्न कडा कानुन ल्याइने, दोषीमाथि फास्ट–ट्र्याक अदालतमार्फत कारबाही गरिने र यस विषयमा मन्त्रिपरिषद्मा छलफल हुने घोषणा गरेलगत्तै वाङचुकले अनशन अन्त्यको घोषणा गरेका हुन्। मोदीले प्रश्नपत्र चुहावटलाई लाखौँ विद्यार्थीको भविष्यसँग जोडिएको गम्भीर विषय भन्दै सरकार यसलाई रोक्न प्रतिबद्ध रहेको बताएका छन्।

मेडिकल कलेज प्रवेश परीक्षाको प्रश्नपत्र चुहिएपछि लाखौँ विद्यार्थी पुनः परीक्षा दिन बाध्य भएका थिए। सोही घटनालाई लिएर शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलनरत युवा नेतृत्वको ‘ककरोच जनता पार्टी’लाई समर्थन गर्दै वाङचुक गत जुन २८ देखि अनशनमा बसेका थिए। यो आन्दोलन प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकाल सुरु भएयताको सबैभन्दा ठूलो जनदबाबका रूपमा हेरिएको छ। आन्दोलनकारीहरूले नयाँ दिल्लीको जन्तर–मन्तरसहित भारतका विभिन्न सहरमा प्रदर्शन जारी राखेका छन्।

Facebook Comments Box