बाढीपहिरोका कारण बागमती र कोशीका प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । सम्भावित जोखिमलाई ध्यानमा राख्दै विभिन्न सडकमा रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ ।

ललितपुरको बागमती गाउँपालिका–भट्टेडाँडा र गोदावरी नगरपालिकाको बिखेंधारामा पहिरो गएपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको रोशी र धुलिखेल क्षेत्रमा पहिरो जाँदा बीपी राजमार्ग र अरनिको राजमार्गसमेत बन्द भएका छन् ।

धादिङको बेनीघाट, कृष्णभीर र गजुरीलगायत क्षेत्रमा पहिरो खसेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन ठप्प भएको छ । प्रशासनले अर्को सूचना जारी नभएसम्म धादिङ आसपासको पृथ्वी राजमार्गमा सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

रसुवा र नुवाकोटका मुख्य सडकसमेत बाढीपहिरोका कारण प्रभावित छन् । नुवाकोटको पासाङ ल्हामु सडकखण्ड र टोखा–छहरे सडकखण्डमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । मकवानपुरको भीमफेदी र हेटौँडाको नेवारपानीमा पहिरो जाँदा कान्ति लोकपथ र महेन्द्र राजमार्गसमेत अवरुद्ध भएका छन् । कोशी प्रदेशमा ओखलढुंगाको मानेभञ्ज्याङस्थित भँडारे खोलामा आएको बाढीले सिद्धिचरण राजमार्ग अवरुद्ध भएको छ ।

पाँचथरको नावाखोला र दोभाने खोलामा बाढीपहिरो आएपछि तमोर करिडोर र मध्यपहाडी लोकमार्गसमेत बन्द भएका छन् । यसैबीच, सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै कोशी प्रदेशका सोलुखुम्बु, भोजपुर, इलाम, खोटाङ र उदयपुर तथा बागमती प्रदेशका काभ्रे, सिन्धुली, मकवानपुर र दोलखामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको छ ।

बागमती प्रदेशका सम्बन्धित जिल्लामा असोज ११ गतेसम्म रातिको समयमा यात्रा गर्न रोक लगाइएको जनाइएको छ । सडक अवरुद्ध हुँदा विभिन्न स्थानमा सयौँ यात्रु अलपत्र परेका छन् । रातिको समयमा एम्बुलेन्स, दमकल तथा अत्यावश्यक खाद्यान्न बोकेका सवारीसाधनलाई भने प्रहरीको समन्वयमा सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ ।

Facebook Comments Box