सुस्तामा नारायणी नदीको बाढी पस्दा १६० भन्दा बढी परिवार विस्थापित
पश्चिम नवलपरासी । नारायणी नदीमा पानीको बहाव बढेसँगै पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा बाढी पसेपछि १६० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । शुक्रबार दिउँसो थारु टोलबाट बाढी पस्न सुरु भएको थियो । थारु टोलका ७८ घरपरिवारलाई सुस्तामै निर्माण गरिएको होल्डिङ सेन्टरमा राखिएको छ ।
राति सैनिक टोल र बड्का टोलमा समेत बाढी पसेपछि १६० भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीले जानकारी दिनुभयो । नदीको बहाव बढ्ने क्रम जारी रहेकाले विस्थापितलाई नारायणी नदीवारि सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । अधिकांश कच्ची घरमा बाढी पसेपछि स्थानीय प्रभावित भएका छन् ।
शनिबार बिहान ७ बजेको मापनअनुसार गण्डक ब्यारेजमा नारायणी नदीको बहाव प्रतिसेकेन्ड दुई लाख ६७ हजार क्युसेक पुगेको छ । नदीको पानीको सतह निरन्तर बढिरहेकाले सुस्ताका अन्य बस्तीसमेत जोखिममा रहेका छन् ।
स्थानीयका अनुसार पछिल्लो समय नदीमा बालुवा थुप्रिनुका साथै नारायणीले धार परिवर्तन गरी सुस्तातर्फ सोझिएपछि एक लाख क्युसेक बहाव पुग्दा नै बाढी पस्न थालेको हो । सुस्तामा तटबन्ध निर्माण हुन बाँकी १३२ मिटर क्षेत्रबाट नदीले कटान गर्दै बस्ती नजिक पुगेको स्थानीय मुन्सी हरिजनले बताउनुभयो ।
बाढीका कारण सुस्ताका बस्तीमा क्षति पुग्नुका साथै दर्जनौँ बिघामा लगाइएको उखु बालीसमेत प्रभावित भएको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले उद्धार आवश्यक परे तत्काल परिचालन गर्ने गरी सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको बताउनुभयो । नदीको बहाव र सुस्ताको अवस्थालाई निरन्तर निगरानीमा राखिएको उहाँले जानकारी दिनुभयो ।

