बाढीपहिरोले मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

काठमाडौँ – देशका विभिन्न मुख्य राजमार्गमा बाढी र पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। बागमती प्रदेशका विभिन्न जिल्लामा पहिरोका कारण सडक अवरुद्ध भएको छ। धादिङको बेनीघाट रोराङ–७ स्थित कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

धादिङकै गजुरी–२ स्थित परेवा भिरमा साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन्। झ्यादुखोला र कमेरेभिरमा भने सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। नुवाकोटको बेलकोटगढी–१० सिमिटारमा बाढीका कारण पासाङल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको उत्तरगया–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड लामो समयदेखि अवरुद्ध छ। रसुवाका अन्य मुख्य सडकखण्डसमेत बन्द रहेको जनाइएको छ।

काठमाडौँको चन्द्रागिरि–२ चिसापानीमा पहिरोका कारण काठमाडौँ–धादिङ सडक एकतर्फी रूपमा सञ्चालनमा छ। टोखा–छहरे सडकखण्डमा भने रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। लुम्बिनी प्रदेशको रोल्पामा सहिद मार्गका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। अर्घाखाँचीको पाणिनी–२ स्थित बालसिद्ध मन्दिर नजिक पहिरो खसेपछि सालझण्डी–ढोरपाटन सडकखण्ड पनि पूर्ण रूपमा बन्द छ।

कर्णाली प्रदेशको मुगुमा छायाँनाथ रारा नगरपालिका–४ ताल्चामा पहिरो खसेपछि मुगु–गमगढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यसैबीच, काभ्रेको बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा समयसीमा तोकिएको छ।

उक्त सडकखण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका सवारीसाधन मात्र सञ्चालन गर्न दिइनेछ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर सवारीसाधन सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ। बाढीपहिरोका कारण विभिन्न सडकखण्डमा यातायात प्रभावित रहेकाले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

Facebook Comments Box