भोटेकोशी बाढीः तीन हजारभन्दा बढीको उद्धार, एक हजार पाँच सयभन्दा बढी बेपत्ता

त्रिशूली, १५ भदौ। भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र परेका तीन हजारभन्दा बढीको उद्धार गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार गएरातिसम्म रसुवा र नुवाकोटका विभिन्न स्थानबाट तीन हजार २९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये दुई हजार ७७६ जना नेपाली र २५३ जना विदेशी नागरिक रहेका छन्।

पछिल्लो २४ घण्टामा मात्रै ६२४ जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो। बाढीबाट ज्यान जोगाएर सुरक्षित स्थानमा आश्रय लिइरहेकालाई हेलिकप्टरमार्फत उद्धार गरिएको उहाँले बताउनुभयो। उद्धार गरिएकाको स्वास्थ्य परीक्षण गरी उपचार आवश्यक परेकालाई स्वास्थ्य संस्थामा पठाइएको र अन्यलाई पारिवारिक पुनर्मिलन गराइएको प्रशासनले जनाएको छ।

जलविद्युत् आयोजनाका सुरुङभित्र रहेको भनिएकाबाहेक बाढीमा अलपत्र परेकाको उद्धार जारी छ। रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका स्थानमा अझै मानिस फसेको हुनसक्ने भएकाले हेलिकप्टरमार्फत नियमित रेकी भइरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो।

यसैबीच, भोटेकोशी बाढीमा परेर हराएको भन्दै एक हजार पाँच सयभन्दा बढी व्यक्तिका परिवारले खोजतलासका लागि निवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार आइतबारसम्म एक हजार ५५८ जनाको खोजतलासका लागि निवेदन परेको छ।

हराएका व्यक्तिको खोजीका लागि नेपाल प्रहरीको वेबसाइट, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा श्री नं. १ सैन्य तालिम केन्द्र विदुरमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ। बाढीमा फसेका तथा हराइरहेकाको खोज तथा उद्धारका लागि हेलिकप्टर, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेरासहित संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ।

बाढीमा परी ज्यान गुमाएकामध्ये नुवाकोटमा मात्रै हालसम्म ९५ जनाको शव सङ्कलन गरिएको छ। जिल्लाका विभिन्न ३० स्थानमा संयुक्त सुरक्षा टोली परिचालन गरी गरिएको खोज तथा उद्धारका क्रममा ती शव फेला पारिएको हो। सङ्कलन गरिएका शवको पहिचानका लागि प्रहरीले तस्बिरसहितको विवरण सार्वजनिक गरेको छ। शव परीक्षणका लागि नुवाकोटबाट काठमाडौँको शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको भन्दै सम्बन्धित परिवारलाई अस्पतालमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

Facebook Comments Box