माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा
काठमाडौं, ८ कात्तिक – स्थानीय प्रशासनको अनुमति बिना काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आज बिहानदेखि ‘जेनजी युनाइटेड’का सदस्यहरू माइतीघरमा भेला भई प्रदर्शन गर्न खोज्दा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्रशासनिक स्वीकृति नलिएर प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित भिडन्त हुन सक्ने आशङ्कामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएकामध्ये २४ महिला र २६ पुरुष रहेका छन्।
‘जेनजी युनाइटेड’का अगुवा मदन कार्कीले आफूहरूले शान्तिपूर्ण प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा अनुमति माग्दा अस्वीकृत गरिएको बताए।
उनका अनुसार, “हामी जेनजी युवाबीच एकता र सकारात्मक सोच फैलाउने उद्देश्यले भेला हुन खोजिरहेका थियौं, तर प्रशासनले रोक्यो। अनुमति दिन अस्वीकार गर्नु लोकतान्त्रिक मूल्यविपरीत हो,” कार्कीले प्रतिक्रिया दिए।

