जमिन कटानपछि गएको पहिरोले तारकेश्वरमा ५० घर प्रभावित

काठमाडौँ, ७ भदौ –  तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा गरिएको जमिन कटानपछि गएको पहिरोले करिब ५० घर प्रभावित भएका छन्। पहिरोका कारण ४–५ घर प्रत्यक्ष रूपमा उच्च जोखिममा परेका छन् भने टोलको आवतजावतसमेत प्रभावित भएको छ।

स्थानीयका अनुसार घर निर्माणका लागि डोजर प्रयोग गरी जमिन खनेपछि उक्त क्षेत्रमा पहिरोको समस्या देखिएको हो। करिब दुई वर्षदेखि जमिन खन्ने तथा घर निर्माणको काम भइरहेको भए पनि निर्माण कार्य निकै ढिलो गतिमा अघि बढेको स्थानीयको गुनासो छ। निर्माणाधीन घरबाट निस्किएको माटो तथा बालुवा सडकमा थुप्रिँदा पैदल हिँडडुल गर्नसमेत कठिन भएको स्थानीयले बताएका छन्।

निर्माणस्थलबाट माटो हटाउने तथा सडक सफा गर्ने काम नियमित रूपमा नभएको उनीहरूको भनाइ छ। पहिरोका कारण टोलका करिब ५० घर प्रभावित भए पनि ४–५ घरमा प्रत्यक्ष रूपमा उच्च जोखिम रहेको स्थानीयले बताएका छन्। पहिरो जानुअघि उक्त क्षेत्रमा यस्तो समस्या नरहेको र डोजर लगाएर जमिन काटेपछि समस्या सुरु भएको उनीहरूको दाबी छ।

समस्या समाधानका लागि स्थानीयले जनप्रतिनिधिलाई पटक–पटक जानकारी गराउँदै आएका छन्। वडाध्यक्षलाई पहिरो तथा सडकको अवस्थाबारे तस्बिर र भिडियोसहित जानकारी गराए पनि ठोस पहल हुन नसकेको उनीहरूको गुनासो छ। उपप्रमुखबाट भने समस्या निरीक्षण गरी समाधानका लागि पहल गर्ने आश्वासन पाएको स्थानीयले बताएका छन्।

टोल सुधार समितिमार्फत निर्माण पक्षसँग समेत समस्या समाधानका विषयमा छलफल भइरहेको छ। स्थानीयले पहिरो नियन्त्रण, प्रभावित घरको सुरक्षा तथा सुरक्षित आवतजावतका लागि सम्बन्धित निकाय र निर्माण पक्षले तत्काल आवश्यक कदम चाल्न माग गरेका छन्।

Facebook Comments Box