प्रमुख राजनीतिक दलले आज समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाउँदै

काठमाडौँ, ३ असोज – प्रमुख राजनीतिक दलले आज समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाउँदैछन्। निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार २ र ३ असोजलाई बन्दसूची पेश गर्ने कार्यक्रम छ। सोही अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राप्रपा लगायतका दलहरुले सोमबार नै आयोग पुगेर बन्दसूची पेश गर्ने बताएका थिए।

आकांक्षीहरु अत्यधिक भएपछि नेतृत्वलाई बन्दसूची तयार गर्न दलहरुलाई सकस भएको छ। समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रमअन्तर्गत पहिलो दिन प्रतिनिधि सभा तर्फ २ दल र प्रदेशसभातर्फ ३ दलले बन्दसूची बुझाएका छन्।

प्रतिनिधिसभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले बन्दसूची दर्ता गराएको आयोगले जनाएको छ। प्रदेश नम्बर १ मा किराँत खुम्बुवान साझा पार्टी, मधेस प्रदेशमा तमलोपा र बागमतीमा ताम्सालिङ् लोकतान्त्रिक पार्टीले सामानुपातिकतर्फको बन्दसूची बुझाएका छन्।

Facebook Comments Box