छठ पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बनाउने राष्ट्रपतिको विश्वास
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि, मौलिक संस्कृतिको संरक्षण र सामाजिक सद्भाव सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
सूर्य, जल र पृथ्वीप्रति श्रद्धा व्यक्त गर्दै मनाइने छठ पर्वले प्रकृतिप्रतिको सम्मान, पर्यावरणीय चेतना तथा पारिवारिक र सामाजिक एकताको सन्देश दिने उहाँले उल्लेख गर्नुभएको छ । तराई तथा मधेश क्षेत्रमा परम्परागत रूपमा मनाइँदै आएको छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लामा पनि श्रद्धा र भक्तिपूर्वक मनाउने क्रम बढ्नु खुसीको विषय भएको राष्ट्रपति पौडेलको भनाइ छ ।
उहाँले छठ पर्वले स्वच्छता, सात्विकता, संयमता, सद्भाव र समृद्धिको कामना गर्ने परम्परालाई अघि बढाएको बताउनुभएको छ । साथै, समाजमा विद्यमान वर्गीय, जातीय र लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति तथा विसङ्गति अन्त्य गर्न पनि यस पर्वले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्वले राष्ट्रिय एकता थप बलियो बनाउँदै दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि राष्ट्रपति पौडेलले गर्नुभएको छ ।

