बाँदरको हैरानीले भोजपुरका किसान अदुवाखेतीतर्फ आकर्षित
भोजपुर । बाँदरले मकै, कोदोलगायतका खाद्यबाली नष्ट गर्न थालेपछि भोजपुरका किसान अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत खाद्यबाली जोगाउन कठिन भएपछि किसानले अदुवाखेतीलाई वैकल्पिक आयआर्जनको माध्यम बनाउन थालेका हुन् ।
भोजपुर नगरपालिका–६ की किसान गीता खड्काले बाँदरको समस्या बढ्दै गएपछि अदुवाखेती सुरु गर्नुभएको छ । जमिनमुनि गाँनो फल्ने भएकाले अदुवा बाँदरबाट तुलनात्मक रूपमा सुरक्षित हुने उहाँको भनाइ छ । व्यावसायिक रूपमा खेती गर्न सके परम्परागत खाद्यबालीभन्दा राम्रो आम्दानी लिन सकिने उहाँले बताउनुभयो ।
त्यस्तै, अर्की किसान सावित्रा पोखरेलले करिब डेढ रोपनी क्षेत्रफलमा अदुवाखेती गरिरहनुभएको छ । अन्य खाद्यबालीमा बाँदरले क्षति पुर्याउन थालेपछि अदुवाखेतीलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । आगामी दिनमा खेतीको क्षेत्रफल थप विस्तार गर्ने उहाँको योजना छ । पोखरेलका अनुसार स्थानीय बजारमा अदुवा प्रतिकिलो एक सयदेखि एक सय २० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । अदुवालाई सुकाएर धुलो बनाई बिक्री गर्न सकिने भएकाले बजार व्यवस्थापनमा पनि सहज भएको उहाँको भनाइ छ ।
ग्रामीण क्षेत्रमा बाँदरको बढ्दो समस्या कृषि उत्पादनका लागि चुनौती बन्दै गएको छ । धान, मकै र कोदोलगायतका बालीमा क्षति पुग्न थालेपछि किसानले वैकल्पिक खेती खोजिरहेका छन् । स्थानीय बजारमा अदुवाको मूल्य राम्रो रहेकाले यसको व्यावसायिक उत्पादन विस्तार गर्न सके किसानको आम्दानी बढाउन सकिने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ ।

