सुनसरीमा छठका पूजासामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
सुनसरी । छठ पर्वको मुख्य दिन आज सुनसरीमा पूजाका सामग्रीको व्यापार बढेको छ । तिहार सकिएसँगै बजारमा बाँसको चोयाबाट बनेका डालो, नाङ्लो, डोको, कोनिया र ढाकीलगायत सामग्री किन्ने सर्वसाधारणको भीड लागेको छ । छठ पूजामा बाँसबाट बनेका सामग्री प्रयोग गर्ने परम्परा रहेकाले पर्वका बेला यस्ता सामग्रीको माग बढ्ने गरेको व्यापारी बताउँछन् । विशेषगरी फलफूल राख्न प्रयोग गरिने कोनिया र ढाकीको माग बढी हुने गरेको छ ।
रामधुनी नगरपालिका–५ झुम्काका व्यापारी धर्मुकु स्वामीका अनुसार छठका अवसरमा तीन–चार दिनमै तीन लाख रुपैयाँभन्दा बढीका बाँसका सामग्री बिक्री हुने गरेको छ । स्थानीय बजारमा पर्याप्त सामग्री नपाइने भएकाले भोजपुर, धनकुटालगायत पहाडी जिल्ला र भारतका विभिन्न स्थानबाट खरिद गरेर ल्याउनुपर्ने उहाँले बताउनुभयो ।
अर्का व्यापारी रितेश रौनियाले पनि छठका बेला बाँसका सामग्रीको माग बढ्ने गरेको बताउनुभयो । भारतबाट सामग्री ल्याएर झुम्का, इनरुवा र इटहरीलगायत बजारमा बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो । यसैबीच, छठ पर्वका लागि सुनसरीका विभिन्न नदी, खोला तथा जलाशय किनारमा पूजास्थल निर्माण, सरसफाइ र सजावटको काम सम्पन्न गरिएको छ । स्थानीयवासी, धार्मिक संस्था र युवा समूहले सामूहिक रूपमा पूजास्थल तयार पारेका हुन् ।
सप्तकोसी, बुढीखोला, सर्दुखोला, सेउतीखोला र सुनसरी खोलाका साथै झुम्का–चतरा नहर किनारमा सरसफाइ तथा सजावट गरिएको छ । पूजास्थलमा दीप, रङ्गोली र बत्तीको व्यवस्था मिलाइएको छ । जिल्लाका सप्तकोसी नदी किनार, इटहरीको बुढीखोला तथा धरानका सर्दु र सेउती खोलालगायत स्थानमा सामूहिक रूपमा छठ पूजा गरिँदै आएको छ । आज साँझ अस्ताउँदो र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइँदैछ ।

